कञ्चनको उपस्थितिमा युवा जागरणको घोषणा : केवल सम्मेलन होइन, चेतनाको बिस्फोट
काठमाडौं । देशको विद्रोही चेतनालाई अझ सशक्त बनाउँदै, नेकपा (बहुमत) निकट क्रान्तिकारी युवा संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलन आज काठमाडौंमा भव्य रूपमा उद्घाटन गरिएको छ। सम्मेलनको उद्घाटन मात्र औपचारिकता थिएन, यो वर्तमान राज्यसत्ताको विकल्प निर्माण गर्ने युवा जागरणको औपचारिक उद्घोष पनि बन्यो।
काठमाडौंको कृष्ण सेन इच्छुक प्रतिष्ठानमा आयोजित उद्घाटन सत्रमा नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’को प्रमुख उपस्थिति रहनु केवल एक सहभागीता थिएन, त्यो परिवर्तनको स्पष्ट संकेत थियो। कञ्चनले व्यक्तित्वले होइन, दृष्टिकोणले सम्मेलनलाई ‘सामान्य सभा’ होइन, ‘चेतनाको बिस्फोट’ बनाइदिए।
कार्यक्रममा पार्टीका शीर्ष नेताहरू उदयबहादुर चलाउने ‘दिपक’, गुणराज लोहनी, थमनसिंह राई, सुजन आयाम, गोकुल पराजुली र असारे काकाको उपस्थितिले यो सम्मेलन केवल संगठनगत प्रक्रिया नभई वैचारिक पुनर्संरचनाको थलो बनेको संकेत दियो।
सम्मेलनको पूर्वसन्ध्यामा निकालिएको र्यालीमा “शिक्षा र स्वास्थ्य निःशुल्क घोषणा गर”, “जनतामाथि थोपरिएको वित्तीय शोषण अन्त्य गर”, “मिटरब्याजी अपराधीहरूलाई कारबाही गर” जस्ता नारा लेखिएका प्लेकार्डहरू मात्र होइन, युवाको आँखा र हिँडाइमा विद्रोहको उज्यालो देखिन्थ्यो।
उद्घाटन सत्रको संयोजन हरिष भट्टले गरेका थिए भने सञ्चालन झलक विश्वकर्माले गरेका थिए। संगठनले जनाएको छ, भोलिदेखि सुरु हुने बन्द सत्रमा रणनीति, रचना र संघर्षको आगामी नक्सा कोरिनेछ।
यो सम्मेलन होइन, यो घोषणा हो — वैज्ञानिक समाजवादतर्फको युवा क्रान्तिको सशक्त पाइला।