प्रजातन्त्रवादी प्राध्यापक संघद्वारा नवीन प्राध्यापकहरूलाई स्वागत तथा सम्मान
काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापक संघ वागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुर इकाइ समितिको आयोजनामा नव नियुक्त प्राध्यापकहरूलाई स्वागत तथा सम्मान गरिएको छ। संघका केन्द्रीय सचिव विष्णु प्रसाद पोखरेलको प्रमुख आतिथ्यता र बबई बहुमुखी क्याम्पसका सभापति सन्तकुमार बर्माको विशिष्ट आतिथ्यतामा आयोजित कार्यक्रममा नव नियुक्त प्राध्यापकहरूलाई खादा ओढाएर सम्मान गरिएको हो।
सम्मानित प्राध्यापकहरूमा समाजशास्त्र विभागका टिकाराम न्यौपाने, अंग्रेजी शिक्षाका दक्षिणा चन्द र खड्क बहादुर वली, तथा विज्ञान विभागका राजन लडेल र अच्युत शर्मा रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि पोखरेलले नवप्राध्यापकहरूलाई बधाई तथा शुभकामना दिंदै विश्वविद्यालयभित्रका समस्याहरू समाधान गर्न सबैले साझा प्रयास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रजातन्त्रवादी प्राध्यापक संघ समस्याहरू प्रति संवेदनशील र सक्रिय रहेको बताउनुभयो।
विशिष्ट अतिथि सन्तकुमार बर्माले विश्वविद्यालयमा समायोजन प्रक्रियासँग सम्बन्धित समस्या अझै समाधान हुन नसकेकोमा दुःख व्यक्त गर्दै त्यसतर्फ छिटो पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रमको सभापतित्व इकाइ सभापति एकराज शर्माले गर्नुभएको थियो भने सहजीकरण उपसभापति तथा कार्यसमिति सदस्य मीनबहादुर केसीले गर्नुभएको थियो। कार्यक्रममा पूर्व क्याम्पस प्रमुख रमेशचन्द्र अधिकारी, कर्मचारी संघका अध्यक्ष शिवप्रसाद रेग्मी, प्रशासकीय अधिकृत वेदराज लम्साल, उपप्राध्यापक छविराज शर्मा लगायत प्राध्यापक तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।