रौतहटको चाँदी खोलामा बगेको निर्दोष रगत

रौतहट । एकजना किशोर, टिकटक बनाउने सपना बोकेर निस्कियो। फर्केर फर्केन। रौतहटको वृन्दावन नगरपालिका–७ का १४ वर्षीय कृष्णप्रसाद यादव चाँदी खोलाको तीरमा आफ्नो सपनासहित ढले।

६ वैशाखको दिउँसो। भारतीय नम्बर प्लेट (बीआर०५डब्लु०१३७) भएको मोटरसाइकलमा उनी चढे। मोबाइलमा आएको फोनले उनलाई बोलाएको थियो — टिकटक बनाउने नाममा।
तर, गढीमाई मन्दिर नजिकै पुगेपछि घटना मोड फेरियो। २५ वर्षीय नागेन्द्र सहनी र साधु भनिने अर्का २२ वर्षीय युवकले कृष्णलाई नियन्त्रणमा लिएर चाँदी खोलातिर लगे।
त्यहीँ, सुनसान बालुवामा, उनलाई छातीमा दुई गोली हानियो। निर्दोष रगत चाँदी खोलाको बालुवामा चिट्ट बग्यो।

प्रहरी अनुसन्धानले देखाएको छ — हत्या कुनै क्षणिक क्रोध होइन, तीन वर्ष अघिको रिसीबीको नतिजा हो।
तीन वर्षअघि कृष्णका बुबाको इँटा भट्टामा डुबेर नागेन्द्र सहनीकी भतिजीको मृत्यु भएको थियो। सहनी परिवारले त्यो दिनदेखि यादव परिवारलाई दोषी ठान्दै आएको थियो।
त्यसैको बदलास्वरूप, किशोर उमेरको निर्दोष कृष्णमाथि घात भएको प्रहरी स्रोत बताउँछ।

यसबाहेक, कृष्णका बुबालाई अपहरण गरेको आरोपमा नागेन्द्रका दाजु धर्मेन्द्र सहनीमाथि मुद्दा पनि दर्ता भएको र उनी फरार रहेको विवरण प्रहरीको फाइलमा भेटिन्छ।

हत्या मात्रै होइन, प्रमाण मेटाउने प्रयास पनि उतिकै योजनाबद्ध थियो। हतियारलाई टिनको बाकसमा लुकाइयो। मोटरसाइकलको नम्बर प्लेट भाँचेर माटोमा गाडियो।
त्यसपछि मोटरसाइकल विकास पटेललाई बिक्री गरियो र गौरको ग्यारेजमा पु¥याएर टुक्र्याउने योजना बनाइयो।
तर, प्रहरीको चाणाक्ष नजरबाट उम्कन सकेनन्। कटुवा पेस्तोल, म्यागजिन, गोलीलगायतका प्रमाण बरामद भइसकेका छन्।

मोटरसाइकल खरिदकर्ता विकास पटेल र ग्यारेज मालिक अनिल साहसमेत पक्राउ परिसकेका छन्।

जिल्ला अदालत रौतहटबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी छ। प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार, “पुरानो रिसीबीले निर्दोष ज्यान लिएको हो।”

रौतहटको चाँदी खोला। जहाँ बालुवामा अझै पनि एउटा निर्दोष किशोरको सपनाको रगत बगिरहेको छ।
रगतले लेखेको छ — “रिसीबीको अन्धो खेलमा सधैँ निर्दोष हार्छ।”