कहाँ हराए पूर्ण पौडेलहरू ?
आज वैशाख १३ गते! २०५९ सालको यिनै दिन, अर्थात वैशाख १३ गते, काठमाडौंको कालिमाटी क्षेत्रबाट तत्कालीन ज्ञानेन्द्रको शाही निरङ्कुश सत्ताको लोकेन्द्र बहादुर चन्द सरकारद्वारा गिरफ्तार भई बेपत्ता पारिनु भएका हाम्रो संगठन अखिल (क्रान्तिकारी) का आदरणीय महासचिव क. पूर्ण पौडेल ‘विश्वास’लाई सम्झनु पर्ने दिन।
समयसँगै आज उहाँलाई बेपत्ता पारिएको ठिक २३ वर्ष पुगेछ। पूर्ण पौडेल मात्र होइन, उहाँजस्तै हजारौँ नेपाली आमाका सपुतहरूको अवस्था अझै अज्ञात छ।
आज बिहानै हाम्रो आदरणीय नेता तथा उहाँको जीवन साथी साबित्रा दुरा ‘आस्था’ दिदीको फेसबुक वालमा एउटा भावुक स्टाटस देखें, जसमा लेखिएको थियो:
”पूर्ण, तपाईंलाई बेपत्ता पारेको पनि आज २३ वर्ष पुगेछ! बेपत्ता योद्धाहरूको सार्वजनिकीकरणका लागि धेरै आन्दोलनहरू गरियो, तर बिडम्बना केहि हुन सकेन। वर्ष गन्ने र पीडा पोख्ने बाहेक हामीसँग विकल्प छैन। तपाईंको सरलता, महानता, दृढता र वर्गप्रति समर्पणले सधैँ अघि बढ्न प्रेरणा दिन्छ। पूर्ण सहित सम्पूर्ण बेपत्ता योद्धाहरू प्रति उच्च सम्मान र स्मरण!”
यो पढ्नेबित्तिकै म गहिरो भावनामा डुबें।
साबित्रा दिदीले आफ्ना प्रिय जीवनसाथी पूर्ण पौडेललाई शाही फासिवादी सत्ताले बेपत्ता पार्दा भोग्नुपरेको गहिरो असह्य पीडा पोख्नुभएको छ। दशकौँको संघर्ष, आन्दोलन र बलिदानपछि पनि आफ्नो जीवनसाथीको अवस्था थाहा नपाउँदा उहाँको मुटुमा चिरन लागेको छ। राज्यसत्ताले बेपत्ता योद्धाहरूको खोजी गर्न त परै जाओस्, उल्टै जनताको घाउमा नुनचुक छरिरहेको आजको वास्तविकता प्रती उहाँको तिखो आक्रोश प्रकट भएको छ।
जीवनसाथी गुमाउनु केवल व्यक्तिगत शोक होइन, यो प्रतिक्रियावादी सत्ता र व्यवस्था विरुद्धको ज्वलन्त मुद्दा हो भन्ने दृढ आवाज उहाँको भावनामा प्रतिध्वनित भएको छ।
वर्तमान दलाल संसदीय सत्ता, जसले जनताको रगत र सपना माथि महल ठड्याएको छ, त्यो सत्ता प्रती साबित्रा दिदीको तीव्र घृणा, आक्रोश र क्रान्तिको आह्वान प्रस्ट झल्किएको छ।
पूर्ण पौडेलहरूको बलिदानको सपना अधुरो रहँदा सम्म सान्त्वना होइन, संघर्ष नै हाम्रो धर्म हो भन्ने चेतना उहाँको पीडाभित्र दन्किरहेको छ।
यसैबिचमा मैले एउटा घटना स्मरण गरे – चार वर्षअघिको कुरा हो।
पोखरामा सम्पन्न अखिल (क्रान्तिकारी) को २२औँ राष्ट्रिय सम्मेलनमा मोतीमाया आमाले (पूर्ण दाइकी आमा) भावविह्वल हुँदै मञ्चबाटै भन्नु भयो: -“बाबुहरू, धोका नदिनु, मेरो स्यानेको सपना साकार पार्नु, परिवर्तनको बाटो नचोड्नु।”
मैले चार वर्षअघिको एउटा स्मरण गरे—पोखरामा सम्पन्न अखिल (क्रान्तिकारी) को २२औं राष्ट्रिय सम्मेलनमा मोतीमाया आमा — पूर्ण दाइकी आमा — भावविह्वल हुँदै मञ्चबाट एक शब्द भन्नु भयो: “बाबुहरू, धोका नदिनु, मेरो स्यानेको सपना साकार पार्नु, परिवर्तनको बाटो नचोड्नु।”
आमाका ती शब्दहरूले सम्मेलन स्थललाई स्तब्ध बनाएको थियो। त्यो केवल व्यक्तिगत भावुकता थिएन, त्यो परिवर्तनको आन्दोलनमा बारम्बार दोहोरिएको विश्वासघात र दलालहरू प्रतिको मौन धिक्कार थियो।
नेपालमा सामन्तवाद र साम्राज्यवादविरुद्ध आमूल परिवर्तनका लागि सुरु गरिएको माओवादी जनयुद्धले जनताको नयाँ भविष्य निर्माण गर्ने अद्वितीय संघर्षको इतिहास रचेको छ। हजारौँ नेपाली छोराछोरीहरूले बलिदान दिएका छन्, र त्यससँगै शाही सेना र प्रतिक्रियावादी राज्यसत्ताले हत्या, बेपत्ता, अंगभंग र अमानवीय यातना दिएको छ।
२०५२ सालको जनयुद्ध प्रारम्भ भएपछि निरन्तर दमन र हत्याको श्रृंखला बढ्दै गयो। २०५९ सालमा ज्ञानेन्द्रले संकटकाल घोषणा गरी शाही सेना परिचालन गरेपछि जनदमन र हत्या अझ बढ्यो। यसै क्रममा अखिल (क्रान्तिकारी) का महासचिव क. पूर्ण पौडेललाई २०५९ वैशाख १३ गते कालिमाटीबाट गिरफ्तार गरी बेपत्ता पारियो।
पूर्ण पौडेल नेपाली विद्यार्थी आन्दोलनका इतिहासमा शीर्ष नेतृत्वबाट बेपत्ता पारिएका पहिलो नेता हुनुहुन्छ। उहाँको वैचारिक दृढता, निर्भीकता र वर्गप्रतिको समर्पणले उहाँलाई प्रतिक्रियावादी सत्ताका लागि खतरा बनायो। उहाँलाई सदाका लागि बेपत्ता पारियो, तर उहाँको विचार र संघर्ष आज पनि हाम्रा चेतनामा जीवित छन्।
त्यस समयमा, संगठनका उपाध्यक्ष क. बेनोज अधिकारीलाई मोरङमा गिरफ्तार गरी चरम यातना दिएर खोर्साने जंगलमा हत्या गरियो। थुप्रै अन्य योद्धाहरू पनि प्रतिक्रियावादी शक्तिहरूसँग असहनीय यातना र हत्या अन्तर्गत परे।
पश्चिममा संगठनका पुर्व उपाध्यक्ष एवम् बौद्धिक नेता क. ज्ञामप्रसाद चालिसे ‘आयाम’ लाई सेनाले ६२ दिनसम्म चिसापानी ब्यारेकमा चरम यातना दिएर हत्या गर्यो।
त्यस्तै, केन्द्रीय सदस्यहरू रामबहादुर रायमाझी, जनम बराल, ऋषि घिमिरे, लेखक तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’लगायत थुप्रै योद्धाहरूलाई कायरतापूर्वक हत्या गरियो।
पूर्ण पौडेलसँगै विपिन भण्डारी, ज्ञानेन्द्र त्रिपाठी, गोकुल निरौला, दीपेन्द्र पन्त, सिएन ढुंगाना, नवीन राई, दिलबहादुर राई, देवहरी रिजाल, निर्दल साह, कृष्ण चौधरी, जानकी चौधरी लगायत सयौँ योद्धाहरू बेपत्ता पारिए।
पूर्ण पौडेलको जीवन भनेको एक उज्यालो बलिदानको अध्याय हो। उहाँका संघर्ष र विचारलाई आजका युवा योद्धाहरूले सम्हालेर अघि बढाइरहेका छन्। २०५७ सालमा केन्द्रीय महासचिव बनेपछि उहाँले विद्यार्थी आन्दोलनमा क्रान्तिकारी धारको बलियो आधार निर्माण गर्नुभयो।
आज पनि अखिल (क्रान्तिकारी)को आन्दोलबाट उदाएका क्रान्तिकारी नेताहरु — सरद रसाइली, दीपेन्द्र चलाउने, मिलन राईजस्ता योद्धाहरू — वर्तमान दलाल संसदीय पतनशील व्यवस्थालाई चुनौती दिँदै वैज्ञानिक समाजवादी राज्य स्थापनार्थ संघर्षरत छन्।
बिरेन्द्र शाह, रुपा बुढामगर, डिबि बुढाथोकी, ऊषाकिरण आजादहरु, गोबिन्द बिष्ट, प्रेम प्रसान्त बोहोरा, रमेश शुनार, हरि बिष्ट, कमला परियार लगायतहरुको नेतृत्वमा अखिल (क्रान्तिकारी) का हजारौं नयाँ पुस्ताका योद्धाहरु आज पनि पूर्ण पौडेलहरूका सपना साकार पार्ने अभियानमा निरन्तर अगाडि बढिरहेको छन् । यसै आन्दोलन प्रज्वल शाहीहरुले बलिदानीको मूल्य चुकाएका छन् ।
पूर्ण पौडेलहरूको सपना केवल विचारमा मात्रै सीमित छैन, यो संघर्षको मार्गदर्शन हो। उहाँहरूले देखेको–देखाएको बाटोमा हिड्नुपर्छ: श्रमजीवी जनताको सत्ता स्थापना, शोषणमुक्त समाज निर्माण, शिक्षामा समानता र स्वास्थ्यमा निःशुल्क सेवा, राष्ट्रियताको रक्षा र आत्मनिर्भर अर्थतन्त्रको विकास ।
पूर्ण पौडेल र सम्पूर्ण बेपत्ता योद्धाहरूको अवस्था सार्वजनिकीकरण गरियोस्! दोषीहरूलाई कारवाही गरियोस्! अधुरो क्रान्ति पूरा गरियोस्! पूर्ण पौडेल अमर रहून्! बेपत्ता योद्धाहरूको न्याय स्थापित होस्! वैज्ञानिक समाजवाद स्थापना होस्!
हामी सबैलाई पुर्ण पौडेलहरुको सपना साकार पार्ने अभियानमा सरिक बनौं। उहाँहरूको बलिदान हाम्रो संघर्षको अटुट प्रेरणा बनेको छ।
लेखक – अखिल (क्रान्तिकारी) का सचिव हुनुहुन्छ ।