जम्मु-कश्मीर घटनाका पीडितप्रति नेकपा (बहुमत)को श्रद्धाञ्जली, न्यौपाने परिवारसँग भेट
काठमाडौं । भारतको जम्मु–कश्मीरमा धार्मिक कट्टरपन्थी अतिवादी आततायीहरूले पर्यटकमाथि गरेको नृशंस नरसंहारमा परी ज्यान गुमाएका बुटवल–११, मनकामनापथ निवासी सुदिप न्यौपानेप्रति नेकपा (बहुमत)ले शोक प्रकट गर्दै अपराधीहरूलाई कडा कारबाहीको माग गरेको छ।
शनिबार नेकपा (बहुमत)का स्थायी समिति सदस्यसहितको टोली न्यौपाने निवास पुगेर परिवारसँग भेट गरी श्रद्धाञ्जली अर्पण गर्दै समवेदना व्यक्त गरेको हो।
पार्टी टोलीले दिवंगत सुदिप न्यौपानेको स्मृतिमा एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेको थियो।
गत मंगलबार जम्मु–कश्मीरस्थित पहलगाम क्षेत्रमा भएकाे भीषण आक्रमणमा एक नेपालीसहित २६ जनाले ज्यान गुमाएका थिए।
अचानक भएको आक्रमणमा आफ्ना आफन्तसँग घुम्न गएका २७ वर्षीय सुदिप न्यौपानेको पनि दर्दनाक मृत्यु भएको थियो।
उक्त घटनापछि बुटवल मात्र होइन, सिंगो मुलुक नै स्तब्ध र शोकाकुल भएको छ।
सुदिप न्यौपाने परिवारसँग भेट्न पुगेको नेकपा (बहुमत) टोलीमा पार्टीका स्थायी समिति सदस्य जित, पोलिटब्युरो सदस्य राकेश, विनोद, रेखा, नरेन्द्र, झलक, रुपन्देही जिल्ला सचिव बिरु, युवा संगठनका ब्युरो इन्चार्ज भुवन, अखिल (क्रान्तिकारी)का नेताहरु सन्देश सापकोटा, पारस राहादी मगर, नरेन्द्र विश्वकर्मा लगायतका नेता तथा कार्यकर्ताहरू सहभागी थिए।
“हत्याराहरूलाई कडा भन्दा कडा कारबाही गर !” भन्दै नेकपा (बहुमत)ले नेपाल सरकार, भारत सरकार र अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर ध्यानाकर्षण गराएको छ।
शोक पुस्तिकामा धारणा व्यक्त गर्दै स्थायी समिति सदस्य जितले सुदिपसहित निर्दोष सर्वसाधारणको हत्याको कडा शब्दमा भत्सर्ना गरेका छन्।
उनले निर्दोष जनसमुदायमाथि गरिएको यस्तो पाशविक आक्रमण कुनै हालतमा क्षम्य नहुने बताए।
नेकपा (बहुमत)द्वारा आयोजित श्रद्धाञ्जली तथा मौनधारण कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रीय सदस्य विनोद मरासिनी र रेखा खनालले गरेका थिए।
पार्टीले सुदिप न्यौपाने र अन्य निर्दोष पीडितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति गहिरो समवेदना र पूर्ण ऐक्यबद्धता व्यक्त गरेको छ।