जनपक्षीय शिक्षा ऐनको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम हुँदै
काठमाडौं । जनपक्षीय, वैज्ञानिक र समान पहुँचको शिक्षाका लागि नयाँ शिक्षा ऐनको आवश्यकता सम्बन्धी अन्तरक्रिया कार्यक्रम काठमाडौंमा हुने भएको छ।
नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले २०८२ साल वैशाख १४ गते, आइतबार दिउँसो १:०० बजे अनामनगरस्थित संवाद डबलीमा “जनपक्षीय शिक्षा ऐनको आवश्यकता” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको हो।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता उदय बहादुर चलाउने ‘दिपक’, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपाने, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता जागृत रायमाझी, अधिवक्ता दिवस निरौला, नेपाल शिक्षक महासंघका प्रतिनिधिहरू, प्याब्सन/एनप्याब्सनका प्रतिनिधिहरू तथा शिक्षाविद्हरूको सहभागिता रहनेछ।
कार्यक्रमबारे जानकारी दिँदै अखिल (क्रान्तिकारी) केन्द्रीय प्रचारप्रसार विभाग सदस्य सन्जु राईले शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरण, विभेद र असमानताविरुद्ध बहस र वैचारिक धारणा निर्माण गर्ने लक्ष्यसहित अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
आयोजक अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले सम्पूर्ण विद्यार्थी, शिक्षक, बौद्धिक वर्ग र सरोकारवालाहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।