संगठन, सेवा र संघर्षको समीकरण : तिमिल्सैनाको उम्मेदवारीको सन्देश

अछाम । संगठनभित्रको अनुशासन, जनसेवामा निरन्तरता, र दशकौँ लामो राजनीतिक संघर्षको धरातलमा उभिएर नेकपा एमाले अछामका नेता सत्यराज तिमिल्सैनाले उप-सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

तिनै तिमिल्सैना, जसले २०५३ सालमा कुईका गाउँ कमिटीको उप-सचिव भएर राजनीतिक यात्रा थालेका थिए, अहिले पार्टीको नवौं जिल्ला अधिवेशनमा सशक्त दाबेदारीका साथ प्रस्तुत भएका छन्। विद्यार्थी राजनीतिबाट हुर्किएको नेतृत्व, लामो समय संगठनसँग जोडिएको निष्ठा, र जनतासँगको सम्बन्ध- यी सबै गुणले तिमिल्सैनालाई केवल उम्मेदवार होइन, सम्भावित संगठन सम्हाल्ने अनुहार बनाएका छन्।

जिल्ला कमिटी सदस्यका रूपमा काम गर्दा उनले संगठन सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याए। स्थानीय तहको राजनीतिमा पनि उनको प्रभाव प्रष्ट देखिन्छ- २०७४ मा वडा सदस्य र २०७९ मा भारी मतसहित वडाध्यक्ष निर्वाचित भएका उनी अहिले कमलबजार नगरपालिका–५ को नेतृत्व गरिरहेका छन्।

तर, उनको लोकप्रियताको आधार केवल चुनावी विजय होइन। तल्लो तहका कार्यकर्ता र आम नागरिकसँगको उनको व्यवहार, सामाजिक काममा देखिएको संवेदनशीलता, र विपन्न वर्गप्रति देखिएको आत्मीयता नै उनको सशक्त पहिचान हो। भुईंमान्छेका पीडा बुझ्न सक्ने र समाधान खोज्न सक्ने नेताका रूपमा तिमिल्सैना स्थापित हुँदै गएका छन्।

उनको उम्मेदवारी घोषणासँगै अछाम एमालेमा प्रतिस्पर्धा तात्न थालेको छ। सिद्धप्रसाद ढुङ्गाना र निरक शाहीजस्ता युवा अनुहारहरूले पनि उप-सचिव पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। गुटगत समीकरण र क्षेत्रगत सन्तुलनको खोजीले गर्दा अधिवेशनमा प्रतिस्पर्धा चर्किने लगभग निश्चित देखिन्छ।

तिमिल्सैनाले उम्मेदवारी घोषणा गर्दै भने, “म यो चुनाव संगठन र आन्दोलनको दिशालाई थप स्पष्ट बनाउन खोजिरहेको छु। मेरो अनुभव, प्रतिबद्धता र जनतासँगको सम्बन्ध पार्टीका लागि उपयोगी हुने विश्वास लिएको छु। प्रतिनिधिहरूको साथ र समर्थनको अपेक्षा गरेको छु।”

अब हेर्न बाँकी कुरा के हो भने- उम्मेदवारीको भिडमा सत्यराज तिमिल्सैनाले संगठन, सेवा र संघर्षको जुन सन्देश दिएका छन्, त्यो प्रतिनिधिहरूले कत्तिको सुन्छन्।