सरकार र मेडिकल माफियाविरुद्ध जनस्वास्थ्यकर्मी संगठनको कडा चेतावनी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनले आवासीय चिकित्सकहरूको जायज माग तत्काल पूरा गर्न सरकार र निजी मेडिकल कलेज सञ्चालकहरूलाई कडा चेतावनी दिएको छ।
संगठनका संयोजक लोकेन्द्र सार्कीद्वारा जारी गरिएको प्रेस वक्तव्यमा चिकित्सकहरूको माग बेवास्ता गर्दै सरकारले निजी मेडिकल माफियासँग मिलेर आन्दोलनलाई कमजोर पार्न खोजिरहेको आरोप लगाइएको छ। संगठनले यस्तो व्यवहारलाई घोर आपत्तिजनक ठहर गर्दै तत्काल निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ।
वक्तव्यमा भनिएको छ, “आवासीय चिकित्सकहरूलाई आठौं तह सरहको निर्वाह भत्ता दिने निर्णय सरकारले गरिसकेको छ, तर कार्यान्वयनमा अटेरी भइरहेको छ। यदि चाँडै निर्णय लागू नगरिए सशक्त संघर्ष गर्नेछौं।”
प्रेस विज्ञप्तिमा निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकहरूलाई गरिरहेको श्रम शोषणको कडा आलोचना गरिएको छ। साथै, आन्दोलनरत चिकित्सकहरूको पक्षमा ऐक्यबद्धता जनाउँदै संगठनले सरकारलाई जनमुखी र उत्तरदायी बन्न आह्वान गरेको छ।
संगठनले चिकित्सकहरूको जायज माग पूरा गर्न ढिलाइ भएमा देशव्यापी संघर्षका कार्यक्रमहरू घोषणा गर्ने संकेतसमेत दिएको छ।
यस्तो छ ज्ञापनपत्र :