संसदीय व्यवस्थाविरुद्ध एक नम्बर ब्युरोको जनसंघर्ष अभियान
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को एक नम्बर ब्युरो समितिद्वारा सञ्चालित “भ्रष्ट दलाल संसदीय व्यवस्था विरुद्ध जनसंघर्ष अभियान” को पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ।
२०७८ साल चैत्र १५ गते सुनसरीबाट सुरु गरिएको अभियान सुनसरी, मोरङ, झापा र उदयपुर जिल्लाका गाउँपालिका, नगरपालिका हुँदै जिल्ला सदरमुकामहरूमा सभा, कोणसभा, भित्ते लेखन, जनसम्पर्क र वैचारिक अन्तरक्रिया कार्यक्रमहरू गर्दै सम्पन्न भएको हो ।
अभियानको क्रममा पार्टीको झण्डै १० हजार अपिल पर्चा घरघरमा पुर्याउने, जनताको हात-हातमा वितरण गर्ने र ती सामग्रीहरूको अध्ययन गराउने कार्य प्रभावकारी रूपमा सञ्चालन गरिएको थियो। यसले अभियानलाई केवल नाराबाजीमा सीमित नराखी, जनचेतना अभिवृद्धि र वैचारिक स्पष्टतामा केन्द्रित बनाएको देखिन्छ।
अभियान नेकपा (बहुमत) का पोलिटब्युरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज गोकुल पराजुलीको नेतृत्वमा सम्पन्न भएको थियो भने सहकमाण्ड पार्टी केन्द्रीय सदस्य अनुपम शर्माले गर्नुभएको थियो। अभियान टोलीमा नियमित रूपमा १२ देखि २० जना सक्रिय कार्यकर्ताको सहभागिता रह्यो।
अभियानको क्रममा पार्टीका स्थानीय तथा जबस (जनवर्गीय संगठन) हरूको प्रारम्भिक समिति निर्माण गरिनुका साथै विद्यालय तथा क्याम्पसहरूमा अखिल (क्रान्तिकारी) का कक्षा समिति र इकाइहरू निर्माण गरिएको छ। त्यस्तै, उदयपुर जिल्लामा पार्टीको सहायक संगठन क्रान्तिकारी युवा संगठनको जिल्ला सम्मेलनसमेत सम्पन्न गरिएको छ।
अभियानको अनुभव अनुसार जनताको जीवन निराशाले भरिएको, सत्तापक्ष र प्रतिपक्ष दुवैप्रति वितृष्णा रहेको, र नयाँ राजनीतिक विकल्पको खोजी तीव्र रूपमा भइरहेको प्रष्ट देखिएको छ। यही सन्दर्भमा नेकपा (बहुमत) ले उठाएको “२०८४ को निर्वाचनलाई वैकल्पिक अभियानसहित बहिष्कार” गर्ने प्रस्ताव जनभावनासँग मेल खान गएको देखिन्छ।