समाजवादका लागि सडक मोर्चा अपरिहार्य : दिपक
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का स्थायी समिति सदस्य उदय बहादुर चलाउने ‘दिपक’ले वैज्ञानिक समाजवाद स्थापना गर्न अब संसदभित्र होइन, जनताको बाटोबाट अर्थात् सडकबाट मोर्चा निर्माण गर्नुपर्ने समय आएको बताएका छन्।
१५६औं लेनिन दिवस तथा नेकपाको ७७औं स्थापना दिवसको अवसरमा ‘वैज्ञानिक समाजवादको आवश्यकता र कम्युनिष्ट दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता दिपकले “के समाजवादका लागि सडक मोर्चा सम्भव छैन?” भनी प्रतिप्रश्न गर्दै, संसदको किचलो र दलालीको रेखाबाट अलग भएर जनताको प्रत्यक्ष हस्तक्षेपमार्फत समाजवादको यात्रा शुरू गर्नुपर्ने धारणा व्यक्त गरे।
उनका अनुसार वैज्ञानिक समाजवाद सुनिश्चित गर्न अब स्पष्ट वैचारिक दिशा, सशक्त संगठन र जनआधारित आन्दोलन निर्माण अनिवार्य भइसकेको छ। समाजवादलाई मूर्त रूप दिन उनले केही ठोस बुँदाहरू कार्यक्रमका रूपमा प्रस्तुत गरे।
नेता दिपकले सबै नागरिकलाई आवास, कृषि र उद्योगका लागि निःशुल्क जमिनको अधिकार सुनिश्चित गर्नुपर्ने बताए। त्यसका लागि जमिनको जन्मसिद्ध अधिकार स्थापित गरिनु पर्ने उनको तर्क थियो।
त्यसैगरी, राज्य नेतृत्वको अर्थप्रणाली विकास गरेर सरकारी उद्योगको माध्यमबाट हरेक नागरिकलाई रोजगारीको सुनिश्चितता गरिनु पर्ने उनको धारणा थियो। “शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा निजीकरणले वर्गीय विभाजन मात्र बढाएको छ,” दिपकले भने, “त्यसको अन्त्य गरी समान पहुँचको व्यवस्था अब आवश्यक भइसकेको छ।”
कृषिमा राज्यको सक्रियता अनिवार्य भएको उल्लेख गर्दै उनले कृषि उत्पादनको खरिद–बिक्री राज्यद्वारा गरिनु पर्ने र स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु पर्ने धारणा राखे। साथै, भ्रष्टाचार नियन्त्रणका लागि विशिष्ट ओहदामा बसेकाहरूको सम्पत्तिको छानबिन गर्नुपर्नेमा पनि उनले जोड दिए।
उत्पीडित राष्ट्रियता र समुदायहरूलाई स्वशासन र विशेषाधिकारको प्रत्याभूति दिनुपर्ने र राष्ट्रिय स्वाधीनता सुदृढ गर्न असमान सन्धी–सम्झौताहरू खारेज गर्नु पर्ने उनका प्रमुख प्रस्तावहरू थिए।
दिपकले यी बुँदाहरूलाई वैज्ञानिक समाजवादको आधारभूत पिलरका रूपमा व्याख्या गर्दै भने, “संसदीय चुनावको मुखुण्डो लगाएर दलालहरू सत्तामा पुगिरहेका छन्, उनीहरूसँग समाजवादको सपना मात्र होइन, दिशा पनि छैन। अब वर्गीय एकता, वैचारिक स्पष्टता र संघर्षकै बाटो वैज्ञानिक समाजवादको मूल आधार बन्नुपर्छ।”
कार्यक्रममा विभिन्न कम्युनिस्ट पार्टीका नेताहरू, बुद्धिजीवी र युवा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
—