दलाल पुँजीवादका मतियारहरू समाजवादी हुन सक्दैनन् : आहुती
काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुतीले दलाल पुँजीवादका मतियारहरूले समाजवादको नाममा ढोंग गर्दै आएको आरोप लगाउँदै तिनीहरू कहिल्यै समाजवादी हुन नसक्ने स्पष्ट पारेका छन्।
१५६औं लेनिन दिवस तथा नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसको अवसरमा नेकपा (बहुमत)ले आयोजना गरेको ‘वैज्ञानिक समाजवादको आवश्यकता र कम्युनिष्ट दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आहुतीले भने, “संसदीय व्यवस्थाभित्र पसेर, विदेशी प्रभुत्वको चाकरी गरेर, पुँजीवादी संरचनाका भाडेमा काम गरेर समाजवादको कुरा गर्नु ढोंग हो।”
उनले वैज्ञानिक समाजवाद भनेको उत्पादनका साधनमाथि जनताको स्वामित्व, समानता र श्रमको सम्मान हो भन्ने व्याख्या गर्दै, त्यस्तो समाज निर्माणका लागि क्रान्तिकारी वैचारिक स्पष्टता र राजनीतिक साहस आवश्यक रहेको बताए।
“राज्यको बागडोर दलालहरूकै हातमा छ,” आहुतीले भने, “त्यसको नाम फेरिदिँदै समाजवाद भनिँदैन। क्रान्तिकारीहरूमा आत्मालोचना, वर्गदृष्टिकोण र स्पष्ट कार्यदिशा नभएसम्म समाजवाद केवल नारामा सीमित रहन्छ।”
कार्यक्रममा उनले वर्गीय दृष्टिकोणबाट एकता र ध्रुवीकरण आवश्यक रहेको उल्लेख गर्दै वैचारिक विचलनसँग लड्ने आह्वान पनि गरे। “समाजवाद चाहिन्छ भने संसद होइन, वैज्ञानिक समाजवादको ठोस कार्यदिशा चाहिन्छ,” उनले जोड दिए।
अन्तरक्रिया कार्यक्रममा विभिन्न कम्युनिस्ट पार्टीका नेताहरू, बुद्धिजीवीहरू र युवा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।