शिक्षक आन्दोलनको घेराभित्र परीक्षा बोर्ड : कक्षा १२ को परीक्षा ‘होल’ कि ‘नहोल’ ?

काठमाडौं । आन्दोलनरत शिक्षकहरूको दबाब, शिक्षा मन्त्रालयको लाचारी र राजनीतिक अदृश्य चलखेलको चपेटामा परेको राष्ट्रिय परीक्षा बोर्ड आज फेरि बैठकमा बस्दैछ। निर्णय गर्नु छ- कक्षा १२ को परीक्षा हुने हो कि हुने होइन।

शिक्षकहरूले भने पहिल्यै चेतावनी दिइसके- “माग नपुरा हुँदासम्म परीक्षा बहिष्कार !” अनि बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले भने- “बैठकले निर्णय गर्छ।” अब प्रश्न उठ्छ- निर्णय कसको दबाबमा ?

२० चैतदेखि सुरु भएको शिक्षक आन्दोलन माइतीघरदेखि बानेश्वरसम्म लहरझैं फैलिएको छ। १८ किसिममा विभाजित शिक्षकलाई एकीकृत गर्नुपर्ने, शिक्षा ऐन तत्काल ल्याउनुपर्ने लगायतका माग लिएर शिक्षकहरू सडकमा छन्। तर, सरकार त सधैंझैं संवादको नाममा ‘वार्तामै अल्झिएको’ देखिन्छ।

कक्षा १२ को परीक्षा नजिकिंदै जाँदा हजारौं विद्यार्थी अन्योलमा छन्। तर राज्य र परीक्षा बोर्ड अझै ‘निर्णय गरौं कि नगरौं’ भन्ने असमञ्जसमा। आजको बैठकले यो अन्योल चिर्छ कि थप गहिरो बनाउँछ- हेर्न बाँकी छ।