वर्तमान सत्ताभित्र रहेर समाजवाद असम्भव : लिलामणि पोखरेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव लिलामणि पोखरेलले वर्तमान संसदीय संरचनाभित्र बसेर समाजवादी लक्ष्य हासिल गर्न नसकिने स्पष्ट पारेका छन्। उनले यो संरचना पूँजीवादी राज्यसत्ताको निरन्तरता मात्र भएको बताउँदै क्रान्तिकारी मार्गमा रुपान्तरणको आवश्यकता औंल्याएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) द्वारा आयोजित १५६औं लेनिन दिवस तथा पार्टीको ७७औं स्थापना दिवसको अवसरमा ‘वैज्ञानिक समाजवादको आवश्यकता र कम्युनिष्ट दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा पोखरेलले भने, “आजको सत्ता संरचनामा करोडौं खर्च नगरी माननीय बन्नै सकिँदैन। यही कारणले सत्ता र भ्रष्टाचार एकै थलोमा मिसिएको छ।”

उनले प्रत्यक्ष कार्यकारी व्यवस्थाको माग गर्दै भने, “जनप्रतिनिधिलाई जनताले सिधै चुन्ने व्यवस्था नहुँदासम्म साच्चिकै जनताको सत्ता स्थापना सम्भव हुँदैन।”

कार्यक्रममा पोखरेलले माओवादी जनयुद्ध गरेर आएका शक्तिहरूमा देखिएको विभाजनप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे। उनका अनुसार हाल माओवादी धारका ११ वटा फरक–फरक पार्टी बनेका छन्, जुन प्राविधिक भन्दा पनि सैद्धान्तिक विचलनकै उपज हो।

उनले जोड दिए, “हामी विभाजन भएर अघि बढ्दैनौं। अब आवश्यक छ, क्रान्तिकारीहरू एकताबद्ध भएर नयाँ शिराबाट ध्रुवीकृत हुने।”

पोखरेलले क्रान्तिको नाममा संसदीय सत्तामा विलय हुने प्रवृत्तिलाई गलत बाटोको संज्ञा दिँदै वैज्ञानिक समाजवादलाई व्यवहारमा उतार्न कम्युनिस्टहरू बीच स्पष्ट कार्यदिशा र वैचारिक एकता अपरिहार्य रहेको बताए।

कार्यक्रममा विभिन्न धारका कम्युनिस्ट नेताहरू, बुद्धिजीवीहरू तथा क्रान्तिकारी युवा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागिहरूले वर्तमान व्यवस्थाको संकट, क्रान्तिकारी विकल्प र वाम एकताको आवश्यकतामाथि धारिलो रूपमा विचार प्रस्तुत गरेका थिए।