उत्पीडितहरूको अधिकार तथा राष्ट्रिय स्वाधीनताका लागि स्वाधीन संयुक्त सरकार आवश्यक : कञ्चन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले उत्पीडित वर्गहरूको अधिकार सुनिश्चित गर्दै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि स्वाधीन संयुक्त सरकार निर्माणको आवश्यकता रहेको बताएका छन्।

सोमबार नेकपा (बहुमत) ले १५६औं लेनिन दिवस तथा नेकपाको ७७औं स्थापना दिवसको अवसरमा आयोजित ‘वैज्ञानिक समाजवादको आवश्यकता र कम्युनिष्ट दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव कञ्चनले दलाल पुँजीवादी व्यवस्थाले देशलाई राजनीतिक, आर्थिक र नैतिक संकटमा धकेलेको उल्लेख गर्दै वैज्ञानिक समाजवाद र क्रान्तिकारी विकल्पको रुपमा स्वाधीन संयुक्त सरकार अपरिहार्य भएको बताए।

उनले भने, “देशलाई संसदवादी सड्न थालेको संरचना र विदेशी प्रभुत्वबाट मुक्त गराएर वैज्ञानिक समाजवादतर्फ उन्मुख गराउने शक्ति हो– स्वाधीन संयुक्त सरकार। यो सरकार वर्तमान दलाल पुजीवादी व्यवस्थाको विकल्प चाहाने उत्पीडित वर्गहरू, श्रमिक, किसान, महिला, युवा र बुद्धिजीवीहरूको संयुक्त नेतृत्वमा अघि बढ्नुपर्छ।”

कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिव लिलामणी पोखरेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुती, नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता प्रमेश हमाल, समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंह, नेपाल कम्युनिस्ट पार्टीका संयोजक वसन्त बोगटी, श्रमिक जनता पार्टीका नेता दुर्गा बराईली लगायत विभिन्न धारका कम्युनिस्ट नेताहरू र बुद्धिजीवीहरूको उपस्थिति थियो।

अन्तरक्रिया कार्यक्रममा सहभागिहरूले वर्तमान व्यवस्थाको असफलता, क्रान्तिकारी विकल्पको खाँचो र कम्युनिस्ट शक्तिहरूको एकताको आवश्यकता बारे विचार व्यक्त गरेका थिए।