आत्मनिर्भरता र नैतिकताविहीन राजनीति नेपालको मूल समस्या : देवेन्द्र सिटौला
काठमाडौं । पूर्व सचिव देवेन्द्र सिटौलाले नेपालमा विद्यमान राजनीतिक, सामाजिक र नैतिक अवस्थामाथि कडा टिप्पणी गर्दै मुलुकको पछौटेपनको मूल जड व्यवस्था र नेताहरूको नैतिकहीनता रहेको बताएका छन्।
फ्रेण्ड्स अन क्लाउडद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले भने, “चीनले आत्मस्वाभिमान र आत्मनिर्भरता सिकेको छ, जुन गुण अहिलेको नेपालमा हराएको छ।” उनले आत्मनिर्भरताको अभावले गर्दा मुलुक विकासको बाटोमा अघि बढ्न नसकेको स्पष्ट पारे।
सिटौलाले नेपालको सामाजिक विडम्बना औंल्याउँदै भने, “जेल पठाउनुपर्ने मान्छेलाई नेपालमा ८० किलोको माला लगाइन्छ।” उनले भ्रष्टाचार, अनैतिकता र ढोंगी संस्कृतिले मुलुकको नेतृत्व तह नै कलङ्कित बनाएको टिप्पणी गरे।
राजनीतिक स्थिरताको सन्दर्भमा उनले वर्तमान संसदीय व्यवस्थाले स्थायित्व दिन नसकेको भन्दै गहिरो असन्तुष्टि व्यक्त गरे। “यो व्यवस्था स्थिरता दिन सक्दैन, जनताको विश्वास गुमाउँदैछ,” उनले बताए।
कार्यक्रममा सिटौलाले थप जोड दिँदै भने, “जबसम्म नेताहरूमा नैतिकता हुँदैन, तबसम्म देश उभो लाग्दैन।” उनले राजनीतिमा इमान्दार नेतृत्व र स्पष्ट दृष्टिकोणको खाँचो रहेको तर्क गरे।
कार्यक्रममा चीनको विकास, राष्ट्रपति सी जिनपिङका ८ नियम, र नेपालले सिक्नुपर्ने पक्षहरूबारे समेत व्यापक छलफल भएको थियो।