वैज्ञानिक समाजवाद : कम्युनिस्ट आन्दोलनको साझा मोर्चा खोज्दै नेताहरू

काठमाडौं । नेपालको कम्युनिस्ट आन्दोलनमा विविध धार, विभाजन र वैचारिक मतभेदबीच पनि केही साझा मोर्चा खोज्ने प्रयत्न फेरि एकपटक सुरु भएको छ। १५६औं लेनिन दिवस तथा नेकपाको ७७औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजना हुने विचार गोष्ठी त्यसको ताजा उदाहरण बनेको छ।

“वैज्ञानिक समाजवादको आवश्यकता र कम्युनिष्ट दायित्व” विषयक विचार गोष्ठी वैशाख ८ गते प्रज्ञा प्रतिष्ठान, शिद्धिचरण सभाकक्ष, कमलादीमा दिउँसो १२ बजे सुरु हुनेछ।
गोष्ठीको आयोजना भने हालको संसदीय व्यवस्थाको कटु आलोचक र वैज्ञानिक समाजवादी वैकल्पिक संरचनाको पक्षधर रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गरेको हो।

गोष्ठीमा कम्युनिस्ट आन्दोलनका सात शीर्ष नेताहरू एउटै मञ्चमा देखिनेछन्। मोहन वैद्य ‘किरण’ (महासचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल), पुष्पकमल दाहाल ‘प्रचण्ड’ (अध्यक्ष, नेकपा माओवादी केन्द्र), माधव कुमार नेपाल (अध्यक्ष, नेकपा (एकीकृत समाजवादी)), नेत्रविक्रम चन्द ‘विप्लव सी’ (महासचिव, नेपाल कम्युनिस्ट पार्टी), आहुती (महासचिव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल), पूर्णबहादुर सिंह ‘समरजंग’ (महासचिव, समाजवादी कम्युनिस्ट पार्टी, नेपाल) र वसन्त बोगटी (संयोजक, नेपाल कम्युनिस्ट पार्टी) प्रमुख वक्ताका रूपमा उपस्थित हुनेछन्।

कार्यक्रमको कार्यपत्र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले प्रस्तुत गर्ने छन्।
कार्यपत्रमार्फत उनले संसदीय व्यवस्थाको विफलता, दलाली–नातावादले ग्रस्त राजनीतिक चरित्र, र वैज्ञानिक समाजवादको आवश्यकताको पक्षमा ठोस वैचारिक प्रस्ताव अघि सार्ने तयारी छ।

राजनीतिक विश्लेषकहरूको भनाइमा, “यो गोष्ठीले कम्युनिस्ट शक्तिहरूबीच वैचारिक संवाद मात्र होइन, भावी राजनीतिक ध्रुवीकरणको मञ्चसमेत तयार गर्न सक्छ।”
संसदीय सत्ता संरचनाभित्र रहेका नेताहरू र त्यसको विकल्प खोज्दै आएका धारहरू एउटै मञ्चमा उभिनुले नेपाली कम्युनिस्ट आन्दोलन नयाँ मोडतर्फ उन्मुख हुन सक्ने अनुमान गरिएको छ।

गोष्ठीमा विभिन्न पार्टी, संगठन, मजदुर, युवा, विद्यार्थी र बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएका छन्। वैज्ञानिक समाजवादबारे वैचारिक बहसमार्फत देशको राजनीतिक दिशालाई स्पष्ट बनाउने यो प्रयास महत्वपूर्ण हुने आयोजकको विश्वास छ।