कोहलपुरमा मोटरसाइकल दुर्घटना प्रकरण : अनुसन्धान नहुँदा परिवारले उठाए प्रश्न
कोहलपुर । नयाँ वर्षको रात १:३० बजे कोहलपुरस्थित कृषि चोकमा भएको मोटरसाइकल दुर्घटनामा भानु कडेलको ज्यान गएको छ। पश्चिमतर्फबाट आइरहेको रा ४ प ३९३० नम्बरको मोटरसाइकलले चप्पलगौरीबाट घर फर्कंदै गरेको भे ५ प ३६४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय (ईप्रका) कोहलपुरले जनाएको छ।
दुर्घटनामा भानु कडेल सहित दुवै मोटरसाइकलका सवार गरी तीन जना घाइते भएका थिए। उनीहरूलाई तत्काल नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर लगिएको थियो। गम्भीर घाइते भएका कडेललाई थप उपचारका लागि सञ्जिवनी मेडिकल कलेज, नेपालगञ्ज रेफर गरिएको थियो। उपचारकै क्रममा बैशाख ६ गते बिहान १:३० बजे उनको मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।
घटनापछि ६ दिन बितिसक्दा समेत प्रहरीले कुनै प्रकारको प्रतिक्रिया नजनाएको मृतक परिवारको गुनासो छ। मृतकका बुवा गांढी कडेलले भने, “छोराको उपचारमा हामी व्यस्त थियौं, दुर्घटनाको कारणबारे हामीलाई केही थाहा थिएन।”
परिवारले शुक्रबार ईप्रका कोहलपुरमा जाहेरी दर्ता गर्न खोज्दा प्रहरी प्रशासनले दर्ता नगरेको आरोप छ। शनिबार पुनः जाहेरी दर्ता गर्न जाँदा “आज शनिबार हो” भन्दै फिर्ता गरिएको मृतकका आफन्तले बताएका छन्।
प्रहरी प्रशासनको मौनता, अनुसन्धानमा ढिलाइ तथा विवरण सार्वजनिक नगर्नुलाई लिएर पीडित परिवार र स्थानीय बासिन्दाले गम्भीर आपत्ति जनाएका छन्। घटनास्थलमा मुचुल्का उठाएको भए पनि अनुसन्धान अगाडि नबढाई कानुनी प्रक्रिया बेवास्ता गरिनु र शव व्यवस्थापनमा लापरबाही देखिनु अत्यन्त दुःखद भएको प्रेमनगर बासीहरूले बताएका छन्।