गैंडाकोटमा देखियो सरकारको ‘कालोपत्रे मुहार’!
नारायणढ । बुटवल सडकखण्डको निरीक्षण गर्न गैंडाकोट पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको अनुहार चम्किलो थियो- जस्तै सडक आयोजनाको प्रगति विवरण। तर वास्तविकता? सडक अझै धुलाम्मे, निर्माण अधुरो र जनताका पीडा यथावत्!
वर्षौँदेखि निर्माणको नाममा जनतालाई धुलो, हिलो र झूट खुवाउँदै आएको यो सडकमा ओलीको आकस्मिक ‘दर्शन’ भयो। निरीक्षणपछि उनले भाषण गरे- “अहिले सन्तोषजनक अवस्था छ।”तर सडक किनारमा बसेका व्यापारी, दिनभर डुल्ने सवारी चालक र गैंडाकोटका बासिन्दा भन्न बाध्य छन्- “सडकको अवस्था होइन, ओलीको बोली मात्र सन्तोषजनक देखियो!”
सडकको अवस्था, सरकारको प्रचार र जनताको बेवास्ता
११३ किलोमिटर लामो सडकलाई दुई खण्डमा बाँडेर चिनियाँ ठेकेदार कम्पनीलाई जिम्मा दिइएको भए पनि दुई भागमा बाँडिएको छ— काम र प्रचार।
पूर्वी खण्ड ६३ प्रतिशत र पश्चिमी खण्ड ६१ प्रतिशत प्रगतिमा पुगेको भनिए पनि तीन वर्षमा यस्तो ‘प्रगति’लाई जनताले कस्तो आँखाले हेर्ने ?
प्रधानमन्त्री ओलीको भ्रमणको लागि मात्र सफा गरिएको सडक किनारा र ‘अस्थायी कालोपत्रे’ले प्रष्ट देखायो- सरकार जनतालाई होइन, क्यामेरालाई खुसी पार्न व्यस्त छ।
ठेकेदार फाइदामा, जनता समस्यामा
सचिवले भने, “२० किलोमिटर मात्रै बाँकी छ।”जनताले सोध्न थालेका छन्- “बाँकी कहिले नसकिने बाँकी हो?”
दाउन्ने र गैंडाकोटबीच बर्खामा पनि यही सडकमा हिँड्नुपर्ने जनता अझै त्रसित छन्। ठेकेदारले रकम असुल्दैछ, मन्त्रीहरूले विवरण बाँड्दैछन् र जनता भने कर्कलोसँग लड्दै छन्।
सडकमा कालोपत्रे होइन, सरकारको लाज पोतिएको छ !
गैंडाकोटमा ओलीले देखाएको ‘सन्तोषजनक मुहार’ सरकारको लाज छोप्ने कालोपत्रे मात्र हो। वास्तविकता भनेको जनताले सडकमा भोगिरहेको सकस हो- जुन न त मन्त्रीको भाषणले ढाकिन्छ, न प्रधानमन्त्रीको निरीक्षणले मेटिन्छ।
अब प्रश्न उठ्छ- सडक निर्माणमा सन्तोषजनक प्रगति भएको हो त ? कि सरकारको प्रचार प्रगति भइरहेको मात्र हो ?