‘सरकार मुरली बजाइरहेछ, शिक्षकहरू न्यायको गीत गाइरहेका छन्’
काठमाडौं । शिक्षकहरूको देशव्यापी आन्दोलनले मुलुकको ध्यान तानिरहँदा नेकपा (बहुमत) का स्थायी समिति सदस्य उदय बहादुर चलाउने ‘दिपक’ ले तीव्र टिप्पणी गरेका छन्। उनले आन्दोलनमा जुटेका शिक्षकहरूको शालिनता र जनतामुखी भावनाको खुलेर प्रशंसा गर्दै सरकारको निष्क्रियता र असंवेदनशीलतालाई “मुरली बजाइरहेको” भन्दै व्यङ्ग्य गरेका छन्।
“आन्दोलनरत शिक्षक साथिहरू ! तपाईंहरूको शालिनता र भद्रताले सुशोभित आन्दोलनका जायज मागहरूप्रति आम जनताको समर्थन छ, मेरो दृढ समर्थन छ,” भन्दै दिपकले शिक्षकहरूको संघर्षप्रति ऐक्यबद्धता जनाए।
तर उनले सरकारको ढिलो प्रतिक्रिया, मौनता र ‘कानमा तेल’ शैलीलाई तीखो शब्दमा चित्रण गरे – “तपाईंहरू सडकमा नारा लगाइरहनुभएको छ, नाचगान गरिरहनुभएको छ, जादु देखाइरहनुभएको छ तर, बिडम्बनाको कुरा सरकार मुरली बजाइरहेछ !”
उनले शिक्षक आन्दोलन कुनै सामान्य तलब-सुविधाको विषयमा मात्र केन्द्रित नभई, व्यापक रूपमै शिक्षाको चरित्र परिवर्तन गर्ने दिशामा जानुपर्नेमा जोड दिए।
“कुशासनको बेरिकेड न हिजो न आज न भोलि नै पनि शालिनताले तोडिन सम्भव होला ?! तैपनि, एउटा शुभेच्छुकको हैसियतले झिनो आशाका साथ भन्न चाहन्छु – यो आन्दोलन सीमित सुविधा र अवसरको जालोमा मात्र अल्झने छैन,” भन्दै उनले आन्दोलनको दिगो राजनीतिक र सामाजिक नतिजा निकालिने विश्वास व्यक्त गरे।
दिपकले शिक्षकहरूको आन्दोलनलाई ‘सिंगाे देशको भविष्य निर्धारण गर्ने’ मोर्चाको रूपमा व्याख्या गर्दै यस्तो आन्दोलनले निःशुल्क, समान र बहुप्राविधिक शिक्षाकाे घोषणापत्र जारी गर्ने दिशामा अघि बढ्नुपर्ने धारणा राखे।
उनको टिप्पणीले सत्ता-शासनप्रतिको गम्भीर आलोचना मात्र होइन, शिक्षक आन्दोलनलाई भावी परिवर्तनको एक सम्भावित दस्तावेजमा रूपान्तरण गर्ने सङ्केत पनि दिन्छ।