क्रान्तिकारी संगठन र छात्रा नेतृत्व

क्रान्तिकारी संगठन भन्नाले सामान्यतया कम्युनिस्ट विचारधारामा आधारित, सामाजिक र राजनीतिक परिवर्तनका लागि लड्ने संगठनलाई जनाइन्छ। यस्ता संगठनहरूमा विद्यार्थीहरूको सक्रिय सहभागिता रहँदै आएको छ, जसमा छात्रा विभागले विशेष स्थान ओगटेको छ। छात्रा विभाग महिला विद्यार्थीहरूको सशक्त सहभागिता, नेतृत्व विकास र सामाजिक न्यायका मुद्दामा जागरूकता फैलाउने महत्त्वपूर्ण अङ्ग हो। यो लेखमा त्यही छात्रा नेतृत्वको ऐतिहासिक, सामाजिक र राजनीतिक पृष्ठभूमि तथा हालको योगदानमाथि चर्चा गरिएको छ।

छात्रा भन्नाले नेपालीमा महिला विद्यार्थी भन्ने बुझिन्छ। यो शब्दले विद्यालय, कलेज वा विश्वविद्यालयमा अध्ययनरत केटी वा महिलालाई जनाउँछ। नेपालमा विगतमा छात्राहरू सामाजिक, सांस्कृतिक, आर्थिक र शैक्षिक दृष्टिले निकै चुनौतीपूर्ण अवस्थामा हुन्थे। उनीहरू सामाजिक र पारिवारिक बन्देज, आर्थिक अभाव, शिक्षा पहुँचको कमी, जातीय र लैङ्गिक विभेद, हिंसा र असुरक्षाजस्ता समस्याबाट गुज्रिन बाध्य थिए।

वि.सं. २००७ सालअघिसम्म नेपालमा औपचारिक शिक्षा प्रणाली सीमित थियो। पहिलो औपचारिक विद्यालय ‘दरबार हाइ स्कूल’ राणा वर्गका लागि मात्र थियो। त्यसबेलाका छात्राहरूका लागि शिक्षा पहुँच “आकाशको फल” जस्तै थियो । वि.सं. २००७ सालमा नेपालको साक्षरता दर करिब २% मात्र थियो, महिलाको त झनै न्यून। छोरीहरूलाई परम्परागत रूपमा गृहकार्य र विवाहमा सीमित गरिन्थ्यो। बालविवाहको प्रचलनले धेरै छात्राहरू विद्यालय छोड्न बाध्य हुन्थे। रजस्वलाका कारण विद्यालय जान रोक लगाउने, जातीय विभेद, दुर्गम क्षेत्रको पहुँच अभाव आदिले उनीहरूको शैक्षिक विकासमा बाधा पुर्‍यायो ।

२००७ सालपछि प्रजातन्त्रको आगमनसँगै सामुदायिक विद्यालयहरूको विकास भयो र छात्राहरूको सहभागीता क्रमशः बढ्न थाल्यो। २०७८ सालको राष्ट्रिय जनगणना अनुसार महिलाको साक्षरता दर ६५.२% पुगेको छ, जुन पुरुषको ८२.७% भन्दा कम भए तापनि उल्लेखनीय प्रगति हो। प्राथमिक तहमा छात्राहरूको नामांकन दर ९७% नजिक छ भने उच्च शिक्षामा उनीहरूको सहभागीता ५२.०५% पुगेको छ। “छोरी शिक्षा बीमा” र “बेटी बचाउ, बेटी पढाउ” जस्ता कार्यक्रमले पनि सकारात्मक प्रभाव पारेका छन्।

क्रान्तिकारी संगठनभित्र छात्रा विभागले महिला विद्यार्थीहरूलाई नेतृत्व विकास, सशक्तिकरण र सामाजिक न्यायको पक्षमा सक्रिय बनाउने महत्त्वपूर्ण भूमिका खेलेको छ। उनीहरूको योगदान निम्नानुसार रहेको छ:

१. नेतृत्व र संगठनात्मक भूमिका: छात्राहरू संगठनमा छात्रा विभाग प्रमुख, उपप्रमुख जस्ता नेतृत्वदायी भूमिकामा सक्रिय हुन्छन्। संगठनको नीति निर्माण, रणनीति तय गर्नेदेखि अभियान सञ्चालनसम्म उनीहरूको योगदान महत्त्वपूर्ण हुन्छ।

२. शैक्षिक सुधारमा योगदान: छात्राहरू गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, निःशुल्क शिक्षा, छात्रवृत्ति र दुर्गम क्षेत्रमा शिक्षाको पहुँचका लागि संघर्ष गर्छन्। विश्वविद्यालयमा हुने अन्याय, भेदभाव र शुल्क वृद्धिविरुद्ध उनीहरूको भूमिका अग्रपंक्तिमा हुन्छ।

३. लैङ्गिक सशक्तिकरण: संगठनले छात्राहरूलाई आत्मनिर्भर र नेतृत्व सक्षम बनाउने तालिम दिन्छ। छात्रा हिंसा, भेदभाव र लैङ्गिक असमानताको विरुद्ध आवाज उठाउने क्षमता विकास गर्छ। वक्तृत्वकला, लेखन, र संगठनात्मक सीप विकासमा उनीहरूको समावेश गरिन्छ।

४. ऐतिहासिक योगदान: जनयुद्धको समयमा अनेकौं छात्राहरूले सशस्त्र संघर्षदेखि जनजागरणसम्म महत्वपूर्ण भूमिका खेलेका छन्। उदाहरणस्वरूप, बर्दियाकी प्रथम छात्रा सहिद जुना (जुगन) चौधरी, जसले युवराज उपाध्यायमाथिको जनकारबाहीको क्रममा १५ वर्षको उमेरमै सहादत प्राप्त गरिन्। अर्की सहिद सीमा चौधरी, जो ६ महिनाकी गर्भवती थिइन्, भरत शाहमाथिको कारबाहीमा पक्राउ परेर गोली हानिएर सहादत प्राप्त गरिन्। उनी जुना चौधरीकी बहिनी थिइन्।

आज पनि क्रान्तिकारी संगठनका छात्रा विभागहरूले शिक्षाको मौलिक हक, लैङ्गिक समानता र सामाजिक न्यायका लागि निरन्तर संघर्ष गरिरहेका छन्। यद्यपि परम्परागत सोच, पारिवारिक दबाब, समाजको विरोध, आन्दोलनमा हिंसा र गिरफ्तारीको जोखिम, तथा संगठनभित्रको पुरुषप्रधान सोचले उनीहरूको भूमिकामा चुनौती ल्याइरहेका छन्।

तर यी सबै चुनौतीका बाबजुद छात्राहरूले नेतृत्व, आन्दोलन र जनजागरणमार्फत शैक्षिक, सामाजिक र राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेलेका छन्। उनीहरूको सक्रियता नै लैङ्गिक समानता र सशक्तिकरणको मेरुदण्ड हो। निरन्तर संघर्षको यही चेतना नै सच्चा क्रान्तिकारी छात्राको विशेषता हो।

लेखिका – सन्जु राई, अखिल (क्रान्तिकारी) की केन्द्रीय सदस्य हुनुहुन्छ ।