छोराको प्रश्न !

जिन्दगीको कुनै पलहरुमा म साहित्यमा बग्न खोज्दथे, भावना, वेदना, रचना कोरिरहन्थे तर आजकाल खै के मा भुलेँ म, त्यता तिरको रस किन हो खल्लो लाग्छ । आफ्नो व्यक्तिगत जिवनका पाटाहरू सँगसँगै साहित्यलाइ पनि संगसंगै लैजानु पर्नेमा म किन कहाँ के कारणले अड्किए पतै पाइन् । अस्ति भर्खर एकजना वरिष्ठ फोटो पत्रकारले भन्नु भयो, हजुर पहिला जस्तै बग्नुहोस, साहित्यका भेलहरुमा, छताछुल्ल पार्नुहोस्, मनका भावनाहरु, किन हो यसरी प्रतिभा लुकाएर बस्ने ??
ति अभिव्यक्तिले कता कता मनमा चिसो पस्यो, हो मैले फेरी सुरुवात गर्नुपर्छ अब, केहि नभए पनि बुढेसकालमा ति लेख आलेख पढेर विगतका दिनहरु यादगार बनाउन र समय कटाउने मेलो बनाउन त सकिन्छ नि ।

अब सुरु गर्नुपर्दछ, तर शिर्षक के राखौं, विषय वस्तु केबाट सुरु गरौँ भन्ने मनसायमा थिएँ । अचानक एकाबिहानै मेरो दस वर्षको ठुलो छोराले कौतुहलता देखायो, मामु बोट बिरुवाको हाँगा काटेपनि फेरि पलाए जस्तै हामी मान्छेको पनि हातखुट्टा काटिएमा फेरि पलाउने गरे के हुन्थ्यो होला है ?

बढो गजबको शिर्षक दियो छोराले, म कृतज्ञ भएँ। म पनि छोरा जस्तै कल्पनामा डुब्न थालेँ, एनिमेटेड फिलिमको कथा जस्तै गरि, वा बेला बेलामा हँसिया खुर्पाले घाँस काट्दै गर्दा हातका औलाहरु काटिए, बिस्तारै पलाँउथ्यो होला विरुवाका मुना पलाए जस्तै । ठुला ठुला मेसिनले खुट्टा काटिए पनि बिस्तारै पलाँउथ्यो होला विरुवाका हागाँहरु पलाए जस्तै, अनि उहिले उहिले विश्वयुद्धमा हजारौँ मानिसले गुमाएका हातखुट्टा फेरि पलाएर मानिस पुनः हिडँडुल गर्थे होला पुरानै तरिकाले।
अहिलेको जस्तै स्वास्थ्य सेवा सुविधा कहाँ थियो र त्यो बेला ? कैंयौं प्रकारको दुर्घटना अनि बिभिन्न रोगहरूबाट गुमेका हातखुट्टा, शारिरिक अंग, पुनः पलाउने भए हाम्रो पुर्वजहरु कति आरामको जिन्दगि बाचेँर धर्ती छोड्थे होला। कति सुन्दर हुन्थ्यो होला संसार, यस्तै सोच्दै म मख्ख पर्दै थिएँ । अकस्मात छोराले अनि आमा, बोट बिरुवा जस्तै काट्ने चलन हुन्थ्यो भने के गर्थे होला मान्छे ? भने पछि म झस्किएँ ।

ओहो यहाँ फाइदा बेफाइदा त हरेक क्षेत्रमा हुन्छ। फाइदाजनक कुराहरुले सबै को भलो हुनेछ तर बेफाइदाले त मानव जातिको अस्तित्व समाप्त पार्न सक्छ।
हामी मानव जाति, स्वार्थी जाती, एकदिन मरेर जानुपर्छ भन्दा थाहा हुदाहुदै पनि त एक अर्काको उन्नति प्रगतिमा जल्ने, खुट्टा तानातान गर्ने, मै लाउँ, मै खाउँ गर्ने गर्छौ । कहाँ बोटबिरुवाको जस्तै अरुको भलाइका निमित्त बाँच्न सक्छौं र ?

अझ झन सत्ता, साम्राज्य विस्तार, शक्तिशाली बन्ने होडमा चलिरहेको विश्वमा मानव जाति ले एक अर्काको हातखुट्टा काटेको काटै गर्थे होला, पुनः पलाउनै नपाइ, अनि संसारको तहस-नहस मा अग्रसर हुन्थे होला मानव जाति।

होस बरु मानिस अहिले कै अवस्थामा ठिक छन्, बोटबिरुवाको जस्तै जिन्दगी भन्दा त, सोच्दै छोरालाइ सम्झाउन लागे , हेर बाबु, हामी मानव जाति इश्वरको सर्वोत्कृष्ट कृति हौ, आफ्नो जिवनकालमा सकेको राम्रो काम गर्नुपर्छ, असल सोच्नुपर्छ, असल बन्नुपर्छ, सबैलाइ आफ्नो ठानेर सरसहयोग गर्नुपर्छ । हाम्रो पुर्खाले जस्तै समाज र देशलाई केहि योगदान दिन सक्नुपर्छ त्यसको लागि राम्ररी पढ्नुपर्छ।

उसले पनि सबै कुराहरु बुझेँ जस्तै गरि आफ्नो कापीकिताब झोलमा मिलाएर राख्न थाल्यो , म भने भान्सातिर लागेँ ।