१२ वर्षदेखि सिण्डिकेटको पीडा, आत्मदाहको चेतावनी

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सँग सम्बन्धनका लागि १२ वर्षदेखि प्रयासरत एक संस्थाका सञ्चालकले सम्बन्धन नपाएको भन्दै आत्मदाहको चेतावनी दिएका छन्।

२०६९ सालदेखि सम्बन्धन प्रक्रिया अघि बढाएको सो संस्थाका प्रमुख रत्नबहादुर चन्दका अनुसार, सम्बन्धनका लागि आवश्यक सबै प्रक्रिया पूरा गरिए पनि हालसम्म अनुमोदन नपाएको हो।

फाइल मन्त्रालयमै रोकिएको आरोप

चन्दले अनुगमन टोलीले स्थलगत निरीक्षण गरिसकेको र सल्लाहकार समितिबाट पनि कार्यक्रम स्वीकृत भइसकेको दाबी गरेका छन्। तर, सम्बन्धन सम्बन्धी फाइल शिक्षा मन्त्रालयमै रोकिएको उनले बताए।

“CTEVT भन्छ– ‘शिक्षा मन्त्रालयले रोक्यो’, मन्त्रालय भन्छ– ‘CTEVT कै सिफारिस चाहिन्छ।’ यस्तो दोहोरो व्यवहारले हामीजस्ता साना संस्था निरन्तर पन्छ्याइएका छौं,” उनले भने।

सिण्डिकेटको आरोप

स्वास्थ्य कार्यक्रमबाहेक अन्य प्रस्तावहरू लामो समयदेखि अगाडि नबढाइएका कारण चन्दले सिटिइभिटीमा सिण्डिकेट सक्रिय रहेको आरोप लगाएका छन्।

“ठूला संस्थाको प्रभावमा साना र नयाँ संस्थालाई रोक्ने प्रवृत्ति देखिएको छ। आर्थिक हैसियत र राजनीतिक पहुँचले सम्बन्धन निर्धारण हुने अवस्था छ,” चन्दको भनाइ छ।

आर्थिक संकट र चेतावनी

चन्दले आफूहरू बैंकको ऋणमा आधारित रहेर संस्था सञ्चालन गर्दै आएको र अहिले लिलामीको संघारमा पुगेको जानकारी दिए। “अब आत्मदाह वा सडक संघर्ष बाहेक विकल्प छैन,” उनले चेतावनी दिए।

उनले लेखेको सन्देशमा शिक्षा मन्त्रीदेखि CTEVT का पदाधिकारीहरूसम्मलाई यसको जिम्मेवार हुने उल्लेख गरिएको छ।

न्यायको माग

चन्दले कानुनी प्रक्रिया पूरा गर्दा पनि सम्बन्धन नपाएको भन्दै प्रश्न उठाएका छन् – “१२ वर्षदेखि कानुनअनुसार अघि बढ्दा पनि सम्बन्धन रोकिनु राज्यको संवेदनहीनता हो कि सिण्डिकेटको जित?”