‘बिचौलिया बेडसम्म पुग्दा बल्ल थाहा पाए !’ – केदार कार्कीको व्यङ्ग्यात्मक प्रहार
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेसका प्रदेश प्रमुख केदार कार्कीले पार्टी महामन्त्री गगन थापालाई लक्षित गर्दै तीखो व्यङ्ग्य प्रहार गरेका छन्।
प्रधानमन्त्रीको सल्लाहकार र केही निकट नियुक्तिहरूमा बिचौलियाको संलग्नता भएको भन्ने गगन थापाको अभिव्यक्तिपछि कार्कीले सामाजिक सञ्जालमा लेखेका छन् -“दिनरात नभनी १६/१६ घण्टा बलुवाटारमा बसेर सरकारको रसायन बनेर काम गर्नेले एक दर्जन नियुक्ति भएपछि बल्ल बेडमा बिचौलिया पुगेको देख्नु भएछ। यो मेरो विचार भन्दा पनि सम्बन्धितकै हो।”
कार्कीको यो टिप्पणीलाई कांग्रेसभित्रको आन्तरिक गुट संघर्ष र दुई धारबीचको राजनीतिक असहजताको संकेतको रूपमा हेरिएको छ। कोशी प्रदेश सरकार गठनको बेला एमालेको साथ लिएर मुख्यमन्त्री बनेका कार्की त्यसबेला गगन थापा र विश्वप्रकाश शर्माको चर्को आलोचनाको शिकार बनेका थिए।
अब बिचौलियाको कुरा उठाउँदा कार्कीले त्यसको व्यङ्ग्यात्मक जवाफ दिएका छन्। उनको भनाइमा, सरकार निर्माणमा रातदिन लाग्नेहरूले आज आएर बिचौलिया देख्नु आफैँमा राजनीतिक नाटकजस्तो देखिएको छ।
कांग्रेसको आन्तरिक राजनीति फेरि उस्तै मोडमा पुगेको देखिन्छ, जहाँ गम्भीर विषयहरू पनि गुटगत समीकरणको चस्माबाट हेरिँदैछन्।