अब ट्रान्सक्रिप्ट र प्रोभिजनल लिन बल्खु जानु नपर्ने, त्रिविले सुरु गर्‍यो अनलाइन सेवा

काठमाडौं । विद्यार्थीका लागि सन्तोषको खबर छ — अब ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्र लिन बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय धाउनुपर्ने झन्झट हटेको छ।

त्रिविले आज (वैशाख २) बिहान ११ बजेदेखि यी सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउन सुरु गरेको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार, अनावश्यक भिडभाड, कागजी झन्झट र समयको बर्बादी घटाउन यो सेवा सुरु गरिएको हो।

“हामीले आफ्नै पद्धति विकास गरी अनलाइन सेवा कार्यान्वयनमा ल्याएका छौँ,” उनले जनआस्थासँग भने, “शुरुमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन आवेदन खुलाइएको छ। आगामी जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालयबाट दिइने सम्पूर्ण सेवा अनलाइन बनाउने तयारी भइरहेको छ।”

कस्तो छ प्रक्रिया ?

विद्यार्थीले अब student.tuexam.edu.np मा गएर आफ्नो विवरण भरेर फारम भर्न सक्नेछन्। फारम भरिसकेपछि आवश्यक कागजात अपलोड गरी, अनलाइनमार्फत शुल्क तिर्न मिल्ने व्यवस्था मिलाइएको छ।

परीक्षा नियन्त्रण कार्यालयले भनेको छ — मार्कसिटमा त्रुटि देखिएमा सुधार गर्ने विकल्प पनि अनलाइनमै उपलब्ध छ। पुराना (पहेंलो) मार्कसिटहरूमा समस्या देखिएमा भने गोप्य शाखामा केही कागजात बुझाउनु पर्ने हुन सक्छ।

विद्यार्थीको स्वागत

त्रिविको यो पहललाई विद्यार्थी र अभिभावकहरूले सकारात्मक रूपमा लिएका छन्। लामो समयदेखि बल्खुमा फारम बुझाउनका लागि लाइनमा बस्नुपर्ने बाध्यताबाट मुक्ति दिलाएको भन्दै सामाजिक सञ्जालमा पनि प्रशंसा गरिएको छ।