सिंहदरबारमा नेकपा (बहुमत)को दस्तक : विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिनको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले राष्ट्रको सर्वोच्च ओहदामा रहेका विशिष्ट व्यक्तिहरूको सम्पत्तिको स्रोतसहित छानबिन प्रक्रियामा सहयोग गर्न औपचारिक माग गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण गराएको छ।

पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’को नेतृत्वमा स्थायी समिति सदस्य क. उदय बहादुर चलाउने ‘दिपक’, क. दिपेन्द्र चलाउने ‘संगम’, पोलिटब्युरो सदस्य क. सागर लिम्बूलगायतका नेताहरू सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन्।

उक्त पत्रमा भनिएको छ, “शासन सत्ताको जिम्मेवारीमा रहेका राजनीतिकर्मी, सुरक्षा, प्रशासन तथा संवैधानिक अंगका उच्च तहमा कार्यरत व्यक्तिहरूको भ्रष्टाचारजन्य आचरणका कारण जनघात र राष्ट्रघात भइरहेको छ। यसले राज्यप्रतिको जनआस्था र विश्वासमा गम्भीर प्रहार गरेको छ।”

ध्यानाकर्षणमा उल्लेख गरिएअनुसार, राष्ट्रप्रमुख, पूर्वप्रधानमन्त्री, उच्च संवैधानिक पदाधिकारी र शासकीय तहका विशिष्ट व्यक्तिहरूको सम्पत्तिमा नागरिक नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरी पारदर्शी रूपमा छानबिन प्रक्रिया अघि बढाइनुपर्ने माग गरिएको छ।

सभामुख घिमिरेले पार्टीले उठाएको विषयलाई गम्भीर, यथार्थपूर्ण र समयसापेक्ष भन्दै सकारात्मक धारणा व्यक्त गरेका छन्।

पार्टीले बुझाएको ध्यानाकर्षण पत्रमा नवउदारवादी अर्थनीति र दलाल पुँजीवादी संरचनालाई भ्रष्टाचारको जडका रूपमा चित्रित गर्दै, वर्तमान राजनीतिक प्रणाली जनविरोधी प्रवृत्तितर्फ उन्मुख भएको स्पष्ट उल्लेख गरिएको छ।

पत्रको अन्त्यमा भनिएको छ, “पुरानो सत्ता संरचना जब देश र जनताप्रतिको उत्तरदायित्वबाट च्युत हुन्छ, तब नयाँ सत्ताको निर्माण एक ऐतिहासिक आवश्यकता बन्छ। जनताको हित र राष्ट्रको अस्तित्व सुनिश्चित गर्न यथाशीघ्र सशक्त कदम चालिनुपर्छ।”

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले यस्तो जनहितकारी विषयमा आगामी दिनमा थप पहल र दबाबमूलक कार्यक्रमहरू अघि बढाइने समेत स्पष्ट पारेको छ।

यस्तो छ पत्र :