कञ्चनको नयाँ वर्ष सन्देश : ‘नयाँ विश्व व्यवस्थामा नेपालले नयाँ ठाउँ ओगट्नेछ’
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले नयाँ वर्ष २०८२ को सन्देशमार्फत नेपाललाई विश्व परिवर्तित संरचनाभित्र नयाँ भूमिकामा उभ्याउने अठोट दोहोर्याएका छन्।
“धेरै सम्भावना र यावत चुनौती बोकेको नयाँ वर्ष २०८२लाई हार्दिक शुभकामना,” भन्दै महासचिव कञ्चनले लेखेका छन्, “आकार लिंदै गरेको नयाँ विश्व व्यवस्थामा नेपाल पनि नयाँ ठाउँमा उभिनेछ।”
उनको सन्देशमा नयाँ वर्षलाई केवल समयको फेरबदल होइन, राजनीतिक, आर्थिक र वैचारिक पुनर्संरचनाको अवसरका रूपमा लिन आह्वान गरिएको छ। उनले वैज्ञानिक समाजवादतर्फको निर्णायक यात्रा सुरु गर्न श्रमिक जनताको ऐक्यबद्धता अपरिहार्य भएको स्पष्ट पारेका छन्।
कञ्चनले वर्तमान दलाल पुँजीवादी व्यवस्थालाई मुलुकको संकटको केन्द्र मानेका छन्। त्यसबाट मुक्ति दिलाउने उपायको रूपमा उनले “स्वाधीन संयुक्त सरकार” को अवधारणा प्रस्तुत गर्दै भनेका छन्— “वैकल्पिक सत्ता संरचना जनसङ्गठित शक्ति र वैज्ञानिक विचारद्वारा मात्र सम्भव छ।”
नयाँ वर्षको सन्देशमार्फत उनले वैचारिक स्पष्टता, राजनीतिक संकल्प र वर्गीय एकतामार्फत वैज्ञानिक समाजवादको बाटोलाई नेपालका श्रमिक जनताको वास्तविक चाहना ठहर गरेका छन्।