०८४ को निर्वाचन बहिष्कार नगरी विकल्प छैन : गोकुल पराजुलीको आह्वान

काठमाडौँ । जब दलाल संसदीय शक्तिहरू निर्वाचनको घेराबन्दीमा “लोकतन्त्र” को नाटक दोहोर्याउन लागिपरेका छन्, त्यहीबेला नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का पोलिटब्युरो सदस्य तथा मोरङ इन्चार्ज गोकुल पराजुलीले ०८४ को चुनाव जनघाती षड्यन्त्रको निरन्तरता भन्दै पूर्ण बहिष्कारको आह्वान गरेका छन्।

“मतदान होइन, बहिष्कार गरौं! टोलटोलबाट दलालहरूलाई लखेटौं!” — नेता पराजुलीको यो नारामा केवल आवेग होइन, दशकौँदेखिको राजनीतिक धोखाको पीडा मिसिएको छ।

उनले संसदीय चुनावलाई दलाल पुँजीवादी वर्गले आफ्नो सत्ता टिकाउन र जनतालाई फेरि छक्याउन बनाएको सज्जित अखडा भनेका छन्।

पुँजीवादको संसद होइन, जनताको वैज्ञानिक सत्ता चाहिन्छ

नेता पराजुलीले संसदीय व्यवस्था जनताको प्रतिनिधित्व गर्ने माध्यम होइन, लुटतन्त्र र राष्ट्रघाती सम्झौताहरूलाई वैधता दिने कानुनी उपकरण भएको ठहर गरे। उनले स्पष्ट शब्दमा भने — “यो चुनाव जनताको शासन होइन, पुँजीवादी सत्ताको सुरक्षाको उपाय मात्र हो।”

उनको धारणा अनुसार, अब जनताले यो चुनावी चक्रव्यूहलाई भत्काउने, विकल्पको यात्रामा होमिने समय आएको छ। विकल्प भनेको वैज्ञानिक समाजवाद हो — जहाँ नीति, नेतृत्व र संगठन सबै जनमुखी हुन्छन्।

जनताको राज्य: नाराबाट यथार्थमा

“अब वैज्ञानिक समाजवादमा आधारित जनसत्ता निर्माण नगरी देशको मुक्ति सम्भव छैन,” पराजुलीको अठोट छ। उनले वर्गसङ्गठित क्रान्तिकारी जनशक्तिको नेतृत्वमा मात्र जनताको राज्य सम्भव हुने विश्वास व्यक्त गरे।

०८४ सालको चुनावी तयारी एकातिर, जनमुक्तिका नयाँ बहस अर्कातिर। यो बहस अब थाकेका नारा वा चुनावी घोषणा मात्र होइन — यो हो जनताको चेतनाको सङ्केत। गोकुल पराजुलीले उठाएको बहिष्कारको आवाज चुनाव बहिष्कार मात्रै होइन, सत्ताको वैकल्पिक र वैज्ञानिक पुनर्संरचनाको घोषणा हो।