सत्तामोहले झस्किए प्रचण्ड ? एमालेको कटाक्ष : सरकार परिवर्तन सम्भव छैन !

काठमाडौं । नेकपा (एमाले) ले माओवादी अध्यक्ष प्रचण्डको “सरकार परिवर्तन” को हल्लालाई सत्तामोहको लक्षण भन्दै व्यङ्ग्यात्मक प्रतिक्रिया दिएको छ। पार्टी सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्ड सरकारबाहिर हुँदा देखिने “कुण्ठा” अहिले पुनः प्रकट भएको टिप्पणी गरे।

“सरकार परिवर्तन न कतैबाट सम्भव छ, न यसको सान्दर्भिकता छ, न त औचित्य नै,” ज्ञवालीको धारिलो प्रहार थियो। उनका अनुसार अहिले सत्ताको समीकरणमा कुनै पनि उथलपुथलको परिस्थिति छैन, तर प्रचण्ड नेतृत्वले सत्ताको रसास्वादन गुमाउँदा आउने ‘छटपटी’लाई राजनीति बनाउँदैछ।

ज्ञवालीले प्रचण्डलाई लक्षित गर्दै थपे, “अरू सबै विषय छोडेर सत्ताकै चर्चा गरिरहनु भनेको सत्तामोहबाहेक अरू केही होइन।”

‘सरकार चलाउन नसकेर होइन, सरकार पाउन नसकेर झस्किएको जस्तो देखियो’

राजनीतिक विश्लेषकहरू भन्छन् – प्रचण्डको मनोविज्ञान बुझ्नै पर्ने बेला आएको छ। संसदीय सत्ताको सिंहासनमा चढेपछि ‘जनयुद्ध’ बिर्सिसकेका प्रचण्डलाई अब कुर्सीविना निद्रा नलाग्ने स्थितिमा पुगिसकेको देखिन्छ।

एक नेताले अनौपचारिक रूपमा कुसे न्युज सँग भने, “प्रचण्ड अब ‘पावर आउटेज’ को डरले राजनीतिक इन्वर्टर खोज्दै छन् – तर विद्युत् छैन, ब्याट्री सकिएको छ।”

एमालेको संकेत स्पष्ट छ – अहिलेको सत्ता स्थिर छ, सत्तामोहमा सर्ने कोही छ भने त्यो माओवादी हो।