कांग्रेसमै सरकारको विरोध ! भाइरल नेताको भीड, विचारहीन नेतृत्वको लस्कर

काठमाडौं । नेपाली कांग्रेसभित्र ‘भाइरल नेताहरू’को भीड बाक्लिँदै गएको छ। सरकारमा बसेरै सरकारको विरोध गर्ने, पार्टीको आन्तरिक छलफललाई मिडिया स्टन्ट बनाउने र सिद्धान्तभन्दा ‘सेल्फी राजनीति’मा रमाउने प्रवृत्तिले पार्टी नै दिशाहीन बन्दै गएको कांग्रेस नेतृ तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको चित्कार छ।

इलामको श्रीअन्तुमा सोमबार आयोजित अग्रज कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले पार्टीभित्र गम्भीर वैचारिक संकटको संकेत गर्दै भनिन्, “आजभोलि भाइरल हुन जे पनि बोल्ने, मिडियामा देखिनकै लागि आफ्नै पार्टीविरुद्ध जहर उगल्ने होड चलेको छ। यस्ता नेताहरूको प्रवृत्तिले पार्टीमा निराशा र भ्रमको खेती गरेको छ।”

उनको टिप्पणी सतहमा देखिए पनि गहिरो संकेत बोकेको छ। कांग्रेस अहिले सरकारमै छ, तर संसददेखि सडकसम्म आलोचना गर्ने कांग्रेसकै नेताहरू देखिन्छन्। “यस्ता अभिव्यक्तिले मिडियामा नाम त कमाउँछन्, तर पार्टीको संगठन, कार्यकर्ताको मनोबल र आगामी रणनीतिमा गम्भीर असर पर्छ,” देउवाको चेतावनी थियो।

गठबन्धन होइन, सशक्त कांग्रेस चाहिन्छ

डा. देउवाले सन् २०८४ को निर्वाचनतिर इशारा गर्दै भनिन्, “अरू पार्टीहरू ‘मिसन ८४’ भन्दै दौडिरहेका छन्, हामीचाहिँ झगडा र दोषारोपणमै अल्झिरहेका छौँ। अब हामीले गम्भीर आत्मसमीक्षा गरेर पार्टीलाई एकताबद्ध गर्दै अघि बढ्नुपर्छ।”

उनले आगामी निर्वाचनमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने स्पष्ट संकेत दिँदै, “अबको लक्ष्य – बहुमतसहितको कांग्रेस बनाउन सक्नुपर्छ,” भनिन्।

महिला नेता, तर खेदिएको अनुभव

पार्टीभित्र महिलाको भूमिका कमजोर बनाइने प्रवृत्तिप्रति आक्रोश पोख्दै उनले भनिन्, “म आफैँ कुनै गल्ती नगर्दा पनि खेदाइमा परेको थिएँ। महिलालाई राजनीतिमा अघि बढ्न सजिलो छैन, तर अब हामी चुप लागेर बस्ने छैनौँ।” उनको यो कथनले कांग्रेसभित्रको गुटगत लडाइँ, पितृसत्तात्मक सोच र महिला नेतृहरूप्रतिको दृष्टिकोणप्रति प्रश्न उठाउँछ।

पार्टीका नाममा व्यक्तिगत स्टन्ट ?

मिडियामा भाइरल बन्ने, नेताको फेसबुकी राजनीति, पार्टीभित्र छलफल गर्नुपर्ने विषयलाई सार्वजनिक भाषणमार्फत प्रचार गर्ने प्रवृत्तिलाई उनले ‘राजनीतिक गैर-जिम्मेवारी’ भनेकी छन्। यस्तो प्रवृत्तिले पार्टीभित्र लोकतान्त्रिक बहस होइन, ‘ड्रामा’ जन्माएको टिप्पणी पनि कार्यक्रममा सुनियो।

इलामका लागि प्रतिबद्धता, तर के संघीय सरकार सुन्छ ?

कार्यक्रममा इलाम जिल्ला सभापति डम्बर खड्का र कोशी प्रदेश सभापति उद्धव थापाले संघीय सरकारको सहयोगको अपेक्षा व्यक्त गरेपछि डा. देउवाले “इलामको विकासका लागि आफू सक्दो पहल गर्छु” भनेर आश्वासन दिइन्। तर यो ‘सरकारी आश्वासन’ कति व्यवहारिक हुनेछ त? कांग्रेसकै नेतृत्वमा सरकार हुँदा समेत यस्ता साना जिल्लाहरूको विकास किन पछि परेको हो?

यदि कांग्रेसभित्र सत्ता, सस्तो लोकप्रियता र भाइरल हुनकै राजनीति हाबी हुँदै गयो भने—के यो पार्टी भविष्यमा सशक्त वैकल्पिक शक्ति बन्न सक्ला? कि केवल इतिहासका पानामा सीमित हुने हो?