जनमुक्तिको ढोका हो स्वाधीन संयुक्त सरकार : नेकपा (बहुमत)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले देशको गहिरिँदो राजनीतिक संकटको समाधानको रूपमा “स्वाधीन संयुक्त सरकार” गठनको माग गरेका छन्।
कान्तिपुर राष्ट्रिय दैनिकको ‘विचार’ स्तम्भमार्फत सार्वजनिक गरिएको लेखमा उनले वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्थालाई पूर्णतः असफल भइसकेको ठहर गर्दै त्यसको विकल्पका रूपमा वैज्ञानिक समाजवादमा आधारित नयाँ सत्ता संरचना आवश्यक रहेको बताएका छन्।
बास्तोलाले प्रतिगमन र राजतन्त्र पुनःस्थापनाका प्रयासहरूलाई गम्भीर चुनौतीको रूपमा व्याख्या गर्दै भनेका छन्, “संसदीय सिन्डीकेट र दरबारिया सिन्डीकेट दुवै एउटै डुंगाका सहयात्री हुन् – फरक देखिए पनि उद्देश्य एउटै छ, जनताको अधिकार खोस्नु।”
चैत १५ गतेको त्रासदीपूर्ण घटनालाई सामन्तवाद र दलाल पुँजीवादबीचको अन्तरविरोधको उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले वैज्ञानिक समाजवादतर्फको संक्रमण अपरिहार्य भएको उल्लेख गरेका छन्।
उनका अनुसार, “ओली समाजवाद, दाहाल समाजवाद, वा देउवा–ज्ञानेन्द्रको समावाद” जस्ता नामधारी प्रवृत्तिहरू सिर्फ दलाल पुँजीवादको नयाँ आवरण हुन्, जसले जनताको मुक्ति सम्भव छैन।
महासचिव बास्तोलाले नेपाली समाजको रूपान्तरणका लागि पाँच चरणीय कार्यक्रममा, राष्ट्रिय स्वाधीनताको स्थापना, राष्ट्रिय उद्योगको पुनर्जागरण, शिक्षा र स्वास्थ्यमा सर्वसुलभ पहुँच, सामाजिक समानता र न्याय, जनताको लागि सुरक्षित आवास र रोजगारीको ग्यारेन्टी रहेको यिनको कार्यान्वयनको आधारभूत सर्त हो — स्वाधीन संयुक्त सरकार रहेको बताए ।
उनले संसदवादी धारका दलहरूको आन्दोलनलाई “निकासबिनाको अराजकतापूर्ण लहर” भनी मूल्यांकन गर्दै भनेका छन्, “एमालेको जरा, राप्रपाको हिन्दु राष्ट्र, माओवादी केन्द्रको मौनता, र समाजवादी मोर्चाको चुनावमुखी गठबन्धनले देशलाई न त स्वाधीन बनाउँछ, न त समाजवाद ल्याउँछ।”
उनको प्रस्ताव अनुसार, वैज्ञानिक समाजवादी सत्ता निर्माण संसदभित्रबाट सम्भव छैन। त्यसको आधार भनेको वैज्ञानिक विचारधारा, संगठित जनबल र विकल्पमूलक सत्ता संयन्त्रको निर्माण नै हो। र त्यसको प्रारम्भिक ढोका बन्छ — स्वाधीन संयुक्त सरकार।