नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त
काठमाडौँ, नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१ औं प्रहरी महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको हो। हालका आईजीपी वसन्तबहादुर कुँवर आज राति १२ बजेदेखि अनिवार्य अवकासमा जाने भएपछि थापालाई नियुक्त गरिएको हो।
आईजीपीको दाबेदारमा तीन जना थिए। आईजीपी बन्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक एआईजी थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ प्रतिस्पर्धामा थिए।
उनीहरू २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। थापा एआईजी बनेको दुई सातापछि गिरी र तामाङ एआईजीमा बढुवा भएका थिए। थापा आईजीपी २०८२ भदौ १९ गतेसम्म सेवामा रहनेछन्।
त्यसपछि ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन्। तर ३० वर्षे हट्ने गरी ल्याइएको विधेयक संसद्बाट पारित भएमा सेवा अवधि थप हुन सक्नेछ। विधेयक संसद्मा विचाराधीन छ। हाल सीआईबी प्रमुख थापाले यसअघि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरी र एआईजीमा बढुवा भएपछि प्रशासन विभाग प्रमुखका रूपमा काम गरिरहेका थिए।
थापाले प्रहरी निरीक्षक हुँदा इलाका प्रहरी कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय गरुडा, रौतहटको इन्चार्ज भएर काम गरेका थिए।
नेपाल प्रहरी स्कुल साँगा, प्रहरी स्कुल दीपायल, इलाका प्रहरी कार्यालय मैकोट रुकुम, इलाका प्रहरी कार्यालय कात्तिके देउराली र प्रहरी प्रधान कार्यालयको कर्मचारी शाखामा रहेर काम गरेको थिए।
त्यसपछि डीएसपीमा बढुवा भएका थापाले विभिन्न युनिट सम्हाले। जिल्ला प्रहरी कार्यालय खोटाङ, प्रधानमन्त्री सुरक्षा कार्यालय बालुवाटार, प्रहरी वृत्त महाराजगन्जमा थापाले कमान्ड सम्हाले।
डीएसपीमै इलाका प्रहरी कार्यालय बुटवल, हेडक्वार्टरको कर्मचारी प्रशासन शाखा, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, मकवानपुरमा पनि माम गरेका थिए। एसपीमा बढुवा भएपछि अख्तियारको कोहलपुर र बुटवल काम गरेका उनी चितवनको प्रहरी प्रमुख बने।
प्रहरी प्रधान कार्यालयको बजेट शाखामा पनि उनले काम गर्ने माैका पाए।
एसएसपीमा बढुवा भएपछि आर्थिक प्रशासन महाशाखा र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख बने। त्यसपछि वृत्ति विकास महाशाखा, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा काम गरे।
डीआईजीमा बढुवा भएपछि उनी प्रबन्ध निर्देशनालयमा पदस्थापन भए।
उनले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पनि सम्हाले। छोटो समयमै एआईजी बनेपछि सबैभन्दा आकर्षक कार्यालयमा थापाले भूमिका पाए। थापा पछिल्ला हरेक सरकारका रोजाइमा पर्दा छानीछानी पोस्टिङ पाउन सफल भएका थिए।