अखिल (क्रान्तिकारी) बहुमतको ३३ बुँदे घोषणापत्र सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । आसन्न चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयले गर्न लागेको स्ववियु निर्वाचनको लागी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले आइतबार काठमाडौंको रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर स्ववियु निर्वाचनका एजेण्डा सहितका घोषणा पत्र सार्वजनिक गरेको थियो ।

उक्त बहुमतले त्रिभुवन विश्वविद्यालय सुधारको ३३ बुँदे एजेण्डा सहित स्ववियू निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको थियो ।

अखिल (क्रान्तिकारी) बहुमतको नामबाट स्ववियु निर्वाचनमा होमिएको उक्त संगठनको घोषणा पत्र सार्वजनिकीकरण कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष विरेन्द्र शाह, सचिवहरु गोविन्द विष्ट, डिबि शाह र हरि विष्ट, नेतृ निशा रावल लगायतका नेताहरुको उपस्थित उपस्थिति रहेको थियो ।

यस्तो छ घोषणा पत्रको पुर्णपाठ :-

अखिल (क्रान्तिकारी) बहुमत घोषणापत्र
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन – २०८१

प्रिय विद्यार्थी साथीहरू !
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरुको बलिदानपूर्ण सङ्घर्षबाट स्थापित आम विद्यार्थीको साझा र सरकारको प्रतिपक्षीय आन्दोलन हो । त्रिभुवन विश्वविद्यालयमा आगामी चैत ५ गते स्ववियु निर्वाचन सम्पन्न हुन गइरहेको छ । यस अवसरमा हाम्रो संगठन नेपालको विद्यार्थी आन्दोलन तथा सबै मुक्तिगामी आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुप्रति स्मरण, घाइते योद्धाहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछ ।
विगत केही दशकदेखि स्ववियु लाई विकृत बनाउँदै लगिएको छ । विद्यार्थीहरूको न्यायपूर्ण अधिकारका पक्षमा सङ्घर्ष गर्ने भन्दा पनि प्रतिक्रियावादी सत्ताको सेवकका रूपमा यसलाई दुरुपयोग गरिएको छ । अर्थात संसदवादी राजनीतिक दलहरुले यसलाई क्रान्तिकारी र प्रगतिशील भुमिकाबाट कटाएर दलाल पूजीवादी संसदीय राजनीतिक व्यवस्थाको लागि योग्य कारिन्दा तयार गर्ने मिनी संसदको रुपमा विकृत पारेका छन् । हाम्रो संगठन स्ववियुको महत्व र गरिमालाई रक्षा गर्दै स्वतन्त्र, विद्यार्थीपक्षीय र शैक्षिक रुपान्तरणको आन्दोलनको रुपमा पुनस्र्थापित गर्ने प्रश्नमा गम्भीर छ । स्ववियुलाई विद्यार्थीका शैक्षिक र राजनीतिक अधिकारका निम्ति सङ्घर्ष गर्ने एउटा सशक्त मोर्चाको रुपमा स्थापित गर्न हाम्रो संगठन प्रतिबद्ध छ । हामी शिक्षालाई निजीकरणबाट पूर्ण रुपमा मुक्त गर्दै निःशुल्क, समान र वैज्ञानिक शिक्षाका पक्षमा निरन्तर संघर्ष गरिरहेको छौं । यो निर्वाचनमा स्ववियुलाई मिनी संसद्का रूपमा बुझ्ने र व्याख्या गर्ने स्ववियुको दुरुपयोग गर्ने सत्तापक्षीय चरित्रका अवसरवादीहरू र क्रान्तिकारी शक्तिबीच सङ्घर्ष हुनेछ । संसदवादी, प्रतिगामी र पश्चगामी विचारको पराजय र अग्रगामी विचार र शक्तिको विजय अवश्यम्भावी छ । हाम्रो संगठन शिक्षा क्षेत्रको आमूल परिवर्तन गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको लागि सडक संघर्षको नेतृत्व गरिरहेको क्रान्तिकारी अग्रदस्ता हो । स्ववियु निर्वाचनलाई सोही आन्दोलनको एउटा पक्षका रुपमा लिदैँ आएको छ । तसर्थ, स्ववियु निर्वाचन – २०८१ मा हाम्रो संगठन अखिल (क्रान्तिकारी) बहुमत यो घोषणापत्र जारि गर्दै अखिल (क्रान्तिकारी) बहुमतका उम्मेदवारहरुलाई भारि मतले विजय गराउन हार्दिक अपिल गर्दछ ।

त्रिभुवन विश्वविद्यालय सुधारका हाम्रा एजेण्डाहरू :

१. विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बन्ने प्रणाली खारेज गर्न, विश्वविद्यालयमा गरिने राजनीतिक भागबण्डा र हस्तक्षेपको अन्त्य गर्न संघर्ष गर्ने,
२. त्रिविको अतिक्रमित जमिन फिर्ता ल्याउन अभियान सहित संघर्ष गर्ने,
३. स्ववियुलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवं विद्यार्थी आन्दोलनको साझा मोर्चाको रुपमा विकास गर्ने,
४. त्रिभुवन विश्वविद्यालयलाई दक्षिण एसियाकै अग्रणी अनुसन्धान संस्थाको रुपमा विकास गर्न पहल गर्ने,
५. ट्रान्सकिप्ट लगायत प्रमाणपत्रहरुलाई सम्बन्धित क्याम्पसबाट पाउने व्यवस्था गर्न संघर्ष गर्ने,
६. आङ्गिक क्याम्पसमा सञ्चालित निजी कार्यक्रमहरुलाई विश्वविद्यालयको दायित्व अन्तर्गत सञ्चालन गर्न संघर्ष गर्ने,
७. चार वर्षे स्नातकलाई तीन वर्षे बनाउन संघर्ष गर्ने, भर्ना समयमा नै विद्यार्थीबाट पुरै शुल्क असूल गर्ने कार्यलाई बन्द गर्न संघर्ष गर्ने,
८. नियमित शैक्षिक क्यालेन्डर तयार गरी समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनका निम्ति दबाब दिने,
९. विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यूनतम रोजगारीको सुनिश्चितताको लागि संघर्ष गर्ने,
१०. उच्च शिक्षालाई श्रम र उत्पादन तथा नवप्रवर्तनसँग जोड्न तथा विश्वविद्यालयको पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणालीलाई समयानुकूल परिमार्जन गर्दै स्वदेशमै अध्ययन र रोजगारीका लागि पहल गर्ने,
११. त्रिवि सेवा आयोगलाई सक्रिय एवं प्रभावकारी बनाउन तथा नियुक्ति, सरुवा र बढुवालाई पारदर्शी बनाउन पहल गर्ने, अध्ययन बिदाको दुरुपयोग गरेका प्राध्यापकहरुलाई कारबाहीको दायरामा ल्याउने,
१२. शिक्षामा सर्तसहितकोे वैदेशिक लगानी पूर्ण रूपमा बन्द गर्न दबाब दिने,
१३. त्रिभुवन विश्वविद्यालयलाई अनुसन्धान तथा नवप्रवर्तनमुखी बनाउन राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने र त्यसलाई आंगिक कार्यक्रमको रुपमा विकास गर्न पहल गर्ने,
१४. अंग्रेजी माध्यम भाषाबाट अध्ययन अध्यापन गराइने विभिन्न संकायका पाठ्यपुस्तक नेपाली भाषामा तयार गर्न र नेपाली माध्यम भाषाबाटै अध्ययन अध्यापनका निम्ति पहलकदमी तथा संघर्ष गर्ने, विद्यार्थीलाई असफल बनाउने स्नातक तहको अनिवार्य अंग्रेजी विषयलाई खारेज गर्न पहल गर्र्नेे,
१५. प्रत्येक आंगिक क्याम्पसलाई त्तब्ब् प्राप्त गर्न योग्य बनाउनका निम्ति आवश्यक पहलकदमी गर्ने,
१६. त्रिविका कामकारबाहीलाई डिजिटलाइजेसन गरी छिटो, छरितो र प्रभावकारी बनाउन पहल गर्ने,
१७. छात्रावास, छात्रवृत्ति वितरणलगायतमा भइरहेको भागबण्डा तथा नातावाद, कृपावादको अन्त्य गरी छनौट प्रकृयालाई पारदर्शी गर्न पहल गर्ने,
१८. खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुमा सहुलियतका लागि विशेष रासन कार्ड व्यवस्था गर्न दबाब दिने, मनोरञ्जन र यातायातमा कम्तीमा ५० प्रतिशत सहुलियत कायम गराउन संघर्ष गर्ने,
१९. त्रिभुवन विश्वविद्यालयमा रहेको क्रिकेट रंगशालालाई व्यवस्थित बनाउने र विद्यार्थीलाई ५० प्रतिशत छुट दिने व्यवस्था कायम गर्ने, रंगशालामा हुने सबै गतिविधिमा त्रिभुवन विश्वविद्यालय क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई प्राथमिकताका साथ अवसर दिने व्यवस्था गर्ने,
२०. प्रत्येक क्याम्पसमा पर्याप्त पुस्तकसहितको पुस्तकालय, सुविधायुक्त प्रयोगशाला, ईलाइब्रेरी, निःशुल्क इन्टरनेट एरियाका लागि पहल गर्ने,
२१. स्वास्थ्य बिमालाई प्रभावकारी र मितव्ययी बनाउने र सबै विद्यार्थीको पहुँच सुनिश्चित गर्ने,
२२. चिकित्सा शिक्षामा विद्यमान माफियातन्त्रको अन्त्य गरी चिकित्सा शिक्षालाई सर्वसुलभ र पहुँचयोग्य बनाउन तथा मेडिकल कलेजमा विद्यार्थीमाथि हुने गरेको दमन र शोषण अन्त्य गर्न संघर्ष गर्ने,
२३. प्राविधिक र इन्जिनियरिङ शिक्षालाई सर्वसुलभ र पहुँचयोग्य बनाउन तथा मापदण्ड र शुल्कमा एकरुपता कायम गर्न संघर्ष गर्ने,
२४. विश्वविद्यालका प्राध्यापक र कर्मचारीहरुको लगानी रहेका निजी शैक्षिक संस्थाको विवरण सार्वजनिक गरी आवश्यक कारबाहीका लागि पहल गर्ने,
२५. युवा विद्यार्थीलाई अध्ययन तथा नवप्रर्वतनका लागि प्रमाणपत्रका आधारमा बिनाधितो र बिनाव्याज सरल एवं सहज ऋण उपलब्ध गराउन पहल गर्ने,
२६. ई–लर्निङ प्रणाली र प्राध्यापकहरुलाई नियमित तालिमको व्यवस्थापनको लागी पहलकदमी गर्ने,
२७. हाम्रो क्याम्पस, राम्रो क्याम्पस अभियान सञ्चालन गरी सरसफाइ, सफा शौचालय, स्वच्छ खानेपानी, सेनेटरी प्याडको व्यवस्था, सुविधायुक्त स्वास्थ्य केन्द्र लगायत विषयका लागि पहल गर्ने,
२८. सरकारी कर्मचारी, शिक्षक, प्राध्यापक र जनप्रतिनिधिका छोराछोरीहरु सामुदायिक÷सरकारी शिक्षालयहरुमा अनिवार्य अध्ययनका लागि दबाब दिने,
२९. शिक्षामा लगानी गर्ने राजनीतिक दलका व्यक्तिहरुको भण्डाफोर गर्ने र लगानी नगर्न दबाब दिने,
३०. विश्वविद्यालय तथा क्याम्पसहरुमा अध्ययन र अनुसन्धान संस्कृतिको विकास गर्ने, नियमित रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने,
३१. विश्वविद्यालय र क्याम्पसहरुमा अपंगतामैत्री पूर्वाधार निर्माण गर्न पहल गर्ने, छात्रा सशक्तिकरण अभियान सञ्चालन गर्ने,
३२. एकिकृत उच्च शिक्षा ऐन निमार्णका लागि दबाब दिने,
३३. पर्यावरणीय संरक्षणका लागि सचेतनामूलक अभियान सञ्चालन गर्ने ।

हाम्रो अपिल छ, आउनुहोस् अब हामी त्रिभुवन विश्वविद्यालयको सुधारका लागि हातेमालो गरौं ।

नाराहरुः

दलाल सत्ताका मतियारहरुलाई गतिलो चोट,
यसपालिको स्ववियुमा अखिल (क्रान्तिकारी) बहुमतलाई भोट ।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण सहित निःशुल्क गरौं ।
स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) बहुमतलाई मतदान गरौं ।।

चिर्नेछौं सबैतिरको निराशा,
अखिल (क्रान्तिकारी) बहुमत सबैको आशा ।

For Radical Change, Give us your Mandate
Vote For All (Revolutionary) Bahumat Candidate !

One Solution – Revolution !