प्रचण्डलाई प्रसाईंको व्यङ्ग्य ‘चरेसको थालले पुगेन, केराको पातले के पुग्ला ?’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दुर्गा प्रसाईंले गतिलो व्यङ्ग्य गरेका छन् । प्रचण्डसहित पार्टी पदाधिकारीहरुले झापामा स्थानीय संस्कृतिअनुसार केराको पातमा खाना खाएपछि मेडिकल व्यवसायीले चर्को व्यङ्ग्य गरेका हुन् । शहीद सुनिल राजवंशीको घरमा राजंवशी समुदायको परिकार खाएको फोटो र समाचार बाहिरिएपछि प्रसाईंले सामाजिक सञ्जाल रंगाएका छन् ।
माओवादीले आजदेखि शुरु गरेको पूर्वपश्चिम जागरण अभियानको थालनी झापाको कचनकवल गाउँपालिकास्थित हुकाहुकी चोकबाट थालिएको छ । उक्त अभियानको औपचारिक उद्घाटन अघि नेताहरुले केराको पातमा खाना खाएका हुन् ।
प्रसाईंले लेखेका छन् :
चरेसको थालले पुगेन । केराको पातले के पुग्ला ? मार्सीले पुगेन । ढिंडोले के पुग्ला ? बन्दुकले पुगेन । गफले के पुग्ला ?
कमरेड सत्ताले पुगेन । गाउँको गुन्द्रीले के पुग्ला ? अब जनता जति झुक्किने झुक्किए, नझुक्काउनुस फेरी । तपाईहरुका झुट्टा सपनाले थाकि सके जनता, अब नथकाउनुस फेरी ।
गाँठो जहाँबाट अल्झिएको हो, फेरी त्यहिं आएर फुकाउनु पर्छ । गाँठो फुकाउने नै हो भने २०४७ सालको संविधानमा फर्किनुपर्छ ।
देश बनाउँछन् अब कम्युनिस्ट मिल्छन् भनेर चरेसको थालीमा मार्सीको भात खुवाउँदा त केही नापेनौ, सबै मिलेर देश नाङ्गो बनायौ, सबै नेपालीलाई सुकुम्बासी बनायौ, नेपालका घर खाली गरायौ, बचेका घर छन् घरको ढोका खोल्ने मान्छे छैन । बुढा आमा बुवालाई तातोपानी खुवाउने सन्तान बाँकी राखेनौ, पैसा जति मारवाडीका हातमा र विदेशमा पुर्यायौ । अहिले गोहीको आँसु झार्दै गाउँ गाउँमा गएर मर्निङ्गवाक गर्दै केराको पातमा भात खाँदा केही नापिनेवाला छैन ।