श्रीमती पाल्ने हुती नभएर डेरामा घरज्वाइँ बसेँ : प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफू श्रीमती पाल्ने हुती नभएर डेरामा घरज्वाइँ बसेको बताएका छन्। श्रीमती राधिका शाक्यको पुस्तक ‘करुणा’ लोकार्पण समारोहमा शनिबार बोल्दै ओलीले विगत सम्झिएका हुन्। उनले बिहे गर्ने बेला आफूसँग एउटी श्रीमती पाल्ने अवस्था पनि नरहेको बताए।

‘त्यतिबेला एउटी श्रीमती पाल्ने अवस्था पनि थिएन। धाक लाउने ठाउँ थिएन। म पाल्न सक्दिनँ । पाल्न सक्ने हुती भएको मान्छे म होइन। मैले सही कुरा खुलस्त भन्ने गर्छु। त्यतिबेला पनि त्यसैगरी भनेको हुँ।’ ओलीले भने।

गृहमन्त्री भएपछि बसिराखेको कोठा छाडेको र मन्त्री पदबाट हटेपछि काठमाडौंमा डेरा पाउन नसकेको उनले सुनाए। त्यसपछि घरज्वाइँ बसेको उनले स्मरण गरे।

‘गृहमन्त्री भइयो। बसिरहेको कोठा छाडेर मन्त्री क्वार्टर गइयो। हट्न पर्‍यो त्यहाँबाट त्यसपछि कतै कोठा पाइएन। सालो ज्ञानेन्द्र शाक्यले डेरा भेटिएन भिनाजु दुई चार दिन हाम्रैमा बसौं अनि विस्तारै कोठा खोजौँला भनेपछि म गएँ ।’ ओलीले भने,‘साथीभाइले सोध्न थाले कहाँ बस्नुभएको छरु भनेर, कतिलाई भन्नेरु अनि मैले भने घरज्वाइँ बसेको छु। त्यसपछि मान्छेले सोध्नै छोडे। कतिपय मान्छेलाई घरज्वाइँ बसेको भन्दा हीनताबोध हुन्छ नि मलाई त भएन । मैले पहिल्यै पाल्न सक्छु भनेको भए पो हीनताबोध हुनु !’

उनले आफू गाईभैंसी चराएर, गोरु जोतेर खेत खन जोत गरेर आएको स्मरण पनि गरे।