सरकारले ब्रह्मलुट गर्न अध्यादेश ल्यायो : नेता खनाल

काठमाडौँ, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको आरोप लगाएका छन् । काठमाडौँमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खनालले दुई तिहाइ बहुमत पाएको बेलामा भूमिसुधार गर्न सकिने आधारहरू रहे पनि त्यसतर्फ जान नसकेको बताएका हुन् ।

उनले वैज्ञानिक भूमि सुधार गर्नुपर्नेमा सरकारले अहिले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको जिकिर गरे । उनले कृषि क्रान्ति गर्दै कृषिलाई आधुनिकीकरणतर्फ लैजान जरुरी रहेको बताउँदै किसानले बजार नपाउने समस्याको अन्त्य गर्न जरुरी रहेको जिकिर गरे ।

खनालले भने, ‘हामीले दुई तिहाइ बहुमत पाएको बेलामा भूमिसुधार गर्न सक्थ्यौँ । वैज्ञानिक भूमि सुधार । अब अहिले हेर्नुस् त अध्यादेश ल्याएर ब्रह्मलुट मच्चाउने अध्यादेश ल्याएको छ । भूमि सुधार गर्नुको सट्टा । वैज्ञानिक भूमिसुधार गर्नुको सट्टा । यो ब्रह्मलुटको अध्यादेश हो । यस प्रकारका काम गर्न पुगिरहेका छौँ । हामी कृषि क्रान्ति गर्न सक्दैनौँ । कृषिलाई आधुनिकीकरण गर्न सकेका छैनौँ । किसानले उत्पादन त वर्षौँदेखि गरिरहेको छ । तर उत्पादन गरेको वस्तुको मूल्य पाइरहेको छैन । उसले बजार पाइरहेको छैन । त्यो कुरा सबै प्राप्त गर्न सकिन्छ । कृषिलाई व्यापक रूपले यान्त्रिकीकरण गर्न सक्छौँ ।’

उनले नेपाली भूभाग विदेशीको कब्जामा रहेको र त्यसलाई फिर्ता ल्याउने कुनै पहल हुन नसकेको बताए । समाजवादको जामा लगाउनेहरू समाजमा धेरै रहेको बताउँदै नाम मात्रैको समाजवादीले समाजवादमा नपुगिने उनको भनाई थियो ।