प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका नेता जोशी पक्राउ
काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए ।
गत २४ माघ गते राति ठमेलमा ड्यूटीमा खटिएका दुई जना प्रहरीमाथि कुटपिट भएको थियो । सो घटनापछि जोशी फरार थिए । घटना हुँदा जोशीसँगै रहेका पाँच जनाविरुद्ध भने पक्राउ पुर्जी जारी भएको थियो । तर, उनलाई चाहिँ उन्मुक्ति दिएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
घटनाको सीसीटीभी फुटेजमा जोशी देखिए पनि प्रहरीले जोशीलाई अनुसन्धानको दायरामा ल्याएको थिएन । सरकारको नेतृत्व गरिरहेको एमालेको संरक्षणमा कारबाहीको दायरमा नल्याइएको भन्दै आलोचना भएपछि प्रहरी जोशीलाई पक्राउ गर्न बाध्य भएको हो ।
क्यूआरटी मोटरसाइकलमा रहेका दुई प्रहरीलाई उनीहरुले कुटपिट गरेका थिए । पक्राउ परेकाहरुलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा कारबाही अघि बढाएको जनाएको छ ।
पक्राउ पुर्जी जारी भएकामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका-१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका(५ का २२ वर्षीय रमेश फुलारा अहिले प्रहरी हिरासतमा छन् ।