जाजरकोटका महेश अधिकारीले दिए अखिल क्रान्तिकारीको उपाध्यक्षमा उम्मेदवारी
नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको उपाध्यक्षमा जाजरकोटका महेश अधिकारीले उम्मेदवारी दिने भएका छन् । क्रान्तिकारीको नेतृत्व चयनका लागि यही माघ १२ गते मतदान हुँदैछ । जसका लागि आज मंगलबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तय गरिएको छ ।
९ उपाध्यक्ष रहने अखिल क्रान्तिकारीमा अधिकारीले खस आर्यतर्फको उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए । कानून, समाजशास्त्र र पत्रकारितामा स्नातक , समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका अधिकारी ६ कक्षा पढ्दादेखि नै विद्यार्थी राजनीतिमा आबद्ध भएका थिए ।
हाल त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र अन्तर्गत एमफील-पीचडी स्कलर अधिकारीले २०६३ देखि २०६६ सम्म अखिल क्रान्तिकारीको मावि इकाई कमिटी अध्यक्ष भएर काम गरे । कक्षा ११-१२ मा पढ्दा ( २०६६- ०६९ ) सम्पर्क समिति उपाध्यक्ष भएर काम गरेका अधिकारीले काठमाडौं जिल्ला कमिटी सचिव, काठमाडौं विश्वविद्यालय संयोजक, काठमाडौं विश्वविद्यालय इन्चार्ज र जाजरकोट जिल्ला इन्चार्जका रूपमा काम गरिसकेका छन् ।
उनी अखिल क्रान्तिकारीको १९औं राष्ट्रिय सम्मेलनदेखि हालसम्म निरन्तर सम्मेलन प्रतिनिधि बन्दै आएका छन् । संगठनमा गरेको योगदान, भूमिका र क्षमताका आधारमा प्रतिनिधिहरूले आफूलाई उपाध्यक्ष निर्वाचित गर्नेमा विश्वस्त रहेको अधिकारी बताउँछन् ।
मिजासिला स्वभावका अधिकारीले यसअघिका सबै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको बताउँदै आगामी दिनमा पनि उस्तै कुशलतापूर्वक दत्तचित्त भएर संगठनको काममा खटिने बताए ।
सबै विद्यार्थीको हकहित, विद्यार्थीको व्यक्तित्व विकास, शैक्षिक सुधार र शिक्षा क्षेत्रमा देखिएका विभिन्न प्रकारका विसंगतीको अन्त्य नै आफ्नो प्रमुख उद्देश्य रहेको अधिकारी बताउँछन् ।
क्रान्तिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र एक कोषाध्यक्षसहित ३३ पदाधिकारी रहने व्यवस्था छ । अखिल क्रान्तिकारीमा यसपटकदेखि ३२ वर्ष उमेर हद लागू हुँदैछ ।