वीरेन्द्रनगरको खुल्लामञ्चमा महायज्ञ सुरु
सुर्खेत, वीरेन्द्रनगरको खुल्लामञ्चमा शुक्रवारदेखि वृहत महायज्ञ सुरु भएको छ । आश्रयविहीनहरुलाई आश्रय दिने उेद्दश्यका साथ मानव सेवा आश्रम सुर्खेतको भवन निर्माणका लागि महायज्ञ लगाइएको हो । महायज्ञको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरेका छन् ।
महायज्ञ मंसिर २८ गतेसम्म सञ्चालन हुने भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले आश्रम निर्माणमा प्रदेश सरकार सहयोग गर्ने बताए । ‘मानवताका लागि सबैले सहयोग गर्नुपर्छ, यो पुण्य काम हो,’ उनले भने, ‘पुण्य कार्यमा सहभागी हुन सबैलाई आह्वान पनि गर्छु ।’
महायज्ञ मूल आयोजक समितिका संयोजक डाक्टर नवराज केसीका अनुसार आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा दिएको छ ।
उक्त भवन बनाउनका लागि आवश्यक पुँजी जुटाउनका लागि उक्त महायज्ञ लगाइएको हो । अहिले मानवसेवा आश्रम भाडाको भवनबाट सञ्चालित छ ।
०७५ माघ १८ गतेदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा आश्रमले भाडाको घरबाट सेवा दिँदै आएको छ । उक्त आश्रममा ४ सय ६ जना बेसहारालाई राखिएको छ ।
भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ दिने घोषणा गरेको छ । यद्यपि उक्त रकम अभाव हुने भएपछि रकम जुटाउन महायज्ञ लगाउन लागिएको संयोजक केसीले बताए ।
सात दिने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने छन् । उनले निशुल्क रुपमा कथा वाचन गर्ने छन् । गौतम बिहीबार नै सुर्खेत आइसकेका थिए ।
यस्तै सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामुहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाक्री प्रदर्शन लगायतका कार्यक्रम रहने छन् ।
महायज्ञमा डा.सन्दुक रुइत, कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल लगायत पनि सहभागी हुने छन् ।
महायज्ञबाट करिब ५ करोडक रकम संकलन हुने अपेक्षा गरिएको उनले बताए ।
भवन सडक आश्रित मानवको उद्धार गरेर राख्नेमात्र नभई मानवसेवा बुझाउने मानवता अध्ययन केन्द्रको स्थापना गरिने लक्ष्य रहेको केसीले बताए ।
आयोजक समितिका अनुसार ५०० देखि १ करोडसम्मको योगदान गर्नेलाई सम्मान गरिने छ । १ करोडको योगदान गर्नेको मानवसेवा आश्रमको कम्पाण्डभित्र निर्माण हुने कुनैपनि ब्लकको नामकरणसहित दाताको अर्धकदको शालिक निर्माण गरिने बताइएको छ ।
५१ लाख ५१ हजारसम्म योगदान गर्नेलाई आश्रमको सभाकक्ष निर्माण गरी सोही कक्षमा शिलालेख गरिने छ भने ३१ लाखसम्म योगदान गर्नेको आश्रमको भान्सा र भोजन कक्षको नामकरण गरी सोही कक्षमा शिलालेख राखिने छ ।
कार्यक्रममा कर्णाली सरकारका मन्त्रीहरु, सभामुख, बौद्धिक वर्ग, सरोकारवालाहरु गरी हजारौँको मात्रामा सहभागी छन् ।