हामी हाम्रो पालिकाका समृद्धिका चाहाना पुरा गछौँ

पाल्पाको तानसेन नगरपालिका उप प्रमुख प्रतिक्षा गाहा सिंजालीसंग हाम्रा सहकर्मी राजेश कुमालले समग्र पाल्पाको बिकास र समृद्धिको बिषयमा गरेको कुराकानी हामीले यस अंकमा प्रकाशन गरेका छौँ । उप प्रमुख प्रतिक्षा गाहा सिंजालीले तानसेनको समग्र अवस्थाको बारेमा विस्तृत कुराकानी गर्नु भएको छ । हामी अर्को अंकमा फेरि अर्कोकुनै पालिकाका जनप्रतिनिधिसंग यसरी नै भलाकुसारी गर्नेछौँ ।

१.नगरपालिकाका प्रतिनिधि र कर्मचारीहरूले अहिले के गरिरहनु भएको छ ?

०८०÷०८१ को योजना तथा कार्यक्रम सम्पन पश्चात यतिबेला ०८१ ÷०८२ को लागि बजेट तथा योजना तर्जुमा गरी नगरसभा मार्फत बजेट पास गरी बिगतमा जे जति कमि कमजोरीहरु भए त्यसको समीक्षा गर्दै यो बर्ष सम्पूर्ण कार्यक्रम (स्थानिय तहहरुका) अझैे प्रभावकारी र जनताको अपेक्षा अनुरुप जाने विश्वासका साथ यतिबेला वडावडामा गएर जनतासगै छौं ।

२. समग्रमा नगरपालिकाको अवस्था के छ ?

नगरपालिकाको योजना तथा विकास निर्माणका कामहरु कुल सम्झौता भएका आयोजना मध्ये ९७ % सम्झौता सम्पन भएका छन् । समग्रमा वित्तिय प्रगति हाम्रो नगरपालिकाको ८२.२४% रहेको छ । यस कारण तानसेन नगरपालिकाको विकास योजनाका कामहरुमा हामी सन्तुष्टी छौं ।

३. नीति तथा कार्यक्रम र बजेट ल्याउँदा निकै आशा लाग्दा, तर कार्यान्वयनको पाटो सधैं फितलो हुन्छ भन्ने जनगुनासो छ नि ?

हामी यतिबेला सघिंय लोकतान्त्रीक गणतन्त्रको दोस्रो कार्यकालमा छौँ । त्यसकारण हाम्रा अगाडी अझै पनि धेरै ऐन कानुन नियमावलीहरु बनाउन बाँकी नै छन् । स्थानीय स्वायत्त सरकारको विकास हुदैछ । त्यसकारण पनि कार्यक्रमहरु, बजेटहरु जुन रुपमा एक आपसमा तालमेल हुनुपथ्र्योे यो देखिएको छैन् । साथै हाम्रा अस्तव्यस्त संरचनाका कारण कहिकतै कायान्वयनको पाटो पनि फितलो भएको देखिन्छ । सुधार्ने बाटोमा छौँ ।

यद्यपी यो बर्ष हाम्रो पालिकाको निति कार्यकम र बजेटको तालमेल मिलेको अनुभुति भएको छ । यसलाई व्यवस्थीत कार्यान्वनको आवश्यक्ता छ हामी गर्दैैछौँ ।

४. तपाईहरुको टिमले स्थानिय तहको निर्वाचन अगाडि जारि गर्नुभएको घोषणापत्र अनुसार के कति काम गर्नुभयो ?

हामीले निर्वाचनमा जति कुरा घोषणा पत्र्मा घोषित गरेका थियौँ ति सबै कुरा जनताको आवश्यकतालाई मध्यनजर गरेर सम्बोधन गरेर जाँदैछौ । जनतासँग धेरै अपेक्षा र चाहना हुने तर हाम्रो आन्तरीक आय एकदम कम हुने हुदा आवश्यक्ता र अपेक्षाको बिचमा केहि भिन्नता छ । जसले गर्दा उहाँहरुको प्रत्येक अपेक्षा पुरा गर्न कुनै पनि खालको श्रोत साधनको प्रयाप्तता नभएको कारण पनि हामीले घोषणापत्रमा प्रतिबद्धा गरेको कुराहरु पूरा गर्न सकिराखेका छैनौँ प्रयत्नरत छौँ हाम्रो कार्यैकालमा पुरा गछौँ ।

५.तिन तहका सरकारविच तालमेल मिलेन भन्ने छ नि, के समन्वय नपुगेको हो ?

हो हजुरले गर्नु भएको प्रश्नमा मेरो पुर्ण सहमत छ । संघ, प्रदेश र स्थानिय सरकार बिच अझसम्म पनि तालमेल र प्रयाप्त समन्वयको अभाव छ । संघियताले संवैधानिक रुपमा राज्यको शतिm विकेन्द्रिकरणको सिद्धान्तलाई स्पष्ट उल्लेख गरेको छ भने संघ तथा प्रदेश सरकारले शक्तिलाई केन्द्रितकृत गर्न खोजिरहेको देखिन्छ । बिभिन्न कुराहरुमा बिभिन्न प्रकारले संघ, प्रदेश र स्थानिय सरकारलाई अंकुश लगाई राखेको छ ।

स्थानिय तहले सिफारीस गरेका राम्रा कार्यक्रम योजनाहरुलाई बाइपास गरेर एउटा बिचारको आधारमा, पहँुचको आधारमा अनावश्यक योजनाहरु पार्ने र वास्तविक जनताको आवश्यक्ताको आधारमा योजना कार्यक्रम नआउने हुदा जसले गर्दा बिकासले गति लिन सकेको छैन । यि कुराहरुलाई मध्यनजर गरेर संघ प्रदेश स्थानिय सरकारले हरेक कुरामा समन्वय र सहकार्यताका साथ अघि बढ्न पर्दछ । केवल राजनैतिक सघियता मात्र होइन अब जनताले बित्तिय संघियता र प्र्रशासनिक संघियता आएको प्रत्याभुत पनि गर्न पाउनुपर्छ ।

६.तपाईको पालिकामा युवाहरुको अवस्था कस्तो छ ? युवामुखी कार्यक्रम छन छैनन् ?

यतिबेला हाम्रो पालिकामा मात्र हैन देश भरी नै युवाहरुले आफ्नो देशमा हैन बिदेशमा भबिस्य खोजिरहनु भएको छ । युवाहरुलाई देश मै स्थापित गर्नका लागि तिनै तहका सरकारले दिर्घकालिन योजना सहित सिपमुलक कार्यक्रमसंगै आय आर्जनमा जोडिने खालका कार्यक्रम ल्याउन अति आवस्यक देखिन्छ । हामीले युवाहरुलाई सिप मुलक बनाउन थुपै कार्यक्रम राखेका छौ । स्थानिय विद्यालयमा प्राविधिक शिक्षा र व्यवसायिक सिक्षालाई पनि प्राथमिकता दिएका छौ ं। यतिले मात्र पुग्दैन अब साच्चैपनि युवाहरुलाई स्वदेशमा राख्ने हो भने सिप, शिक्षा साथै उहाँहरु प्रति देश पे्रमको भावना जागरण गराउने सकारात्मक भावनाको विकास गराउन पर्ने देखिन्छ ।

७. आफ्नो क्षेत्राधिकारलाई कसरी उपयोग गरिरहनु भएको छ ? धेरैजसो पालिकामा आफ्नो क्षेत्राधिकार नै थाह नपाउने अवस्था छ ?

नेपालको संविधान २०७२ र स्थानिय सरकार सञ्चालन ऐन २०७४ ले उपमेयरलाई थुप्रै अधिकार दिएको छ । ति अधिकारलाई उपयोग गर्दै र श्रोत्र साधनको प्रयाप्तता नभएता पनि जनताको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै सरल, सहज छिटो रुपमा सेवा प्रवाह गरिरहेको छौं ।

राजश्व वृध्दी नगरी राजस्वको दायरा फराकिलो गर्दैछौं । न्याय सम्पादनलाई सम्पूर्ण जनतामाझ मेलमिलाप कर्ता मार्फत प्रत्येक वडावडामा न्यायको प्रत्याभुती गराएका छौं । पुर्वाधारमा मात्र नभएर सम्पुर्ण क्षेत्रमै लैंंगिक सामाजिक समाबेशीताको सिद्धान्तलाई अंगिकार गरी काम गरीरहेका छौं ।

८. जनप्रतिधि र कर्मचारी बिच अन्तरबिरोधले योजना कार्यान्वयनमा असर परेको देखिन्छ तपाइको पालिकाको अवस्था के छ ?

जनप्रतिनिधि र कर्मचारी एकरथका दुई पाङ्ग्रा हुन कुनै पनि राष्टको विकास गर्न यि दुबैको एक आपसमा राम्रो सम्बन्ध हुनुपर्दछ यो कुरालाई हाम्रो पालिकाका जनप्रतिनिधि र कर्मचारी दुबैले स्पष्ट बुझेको हुदा हामीले आ–आफनो् दायित्व र कर्तव्यलाई राम्रोसंग बुझेर काम गरिरहेका छौँ ।

९.तानसेन नगरपालिकामा ऐन कानुनहरु प्रयाप्त छन् ?

कानुन र कार्य विधिहरु पर्याप्त मात्रामा त छैनन् तर हामीले संघ र प्रदेशसँग नबाझिने गरी आवस्यक कानून र कार्यविधि निर्माण गर्दै काम गरीरहेका छौं ।

१०. प्रमुख र उप प्रमुखको बिच कस्तो छ तालमेल प्राय पालिकामा अन्तरबिरोध देखिन्छ ?

मेयरको कार्यक्षेत्र छुट्टै छ र मेरो छुट्टै छ त्यसकारण हामीले आ–आफनो क्षेत्र बुझेर काम गरीराखेका छौं । एकले अर्कालाई हस्तक्षप हैन, सहयोग र सहकार्य गदै अगाडि बढिरहेका छौं जसले गर्दा हाम्रो पालिकामा कुनैपनि काममा अवरोध छैन् ।

११.अनुगमनको काम प्रभावकारी भएन भन्ने जनगुनासो छ के भन्नु हुन्छ ?

योजना अनुगमनलाई व्यवस्थित गर्नको लागि हामी निकै गम्भीरताको साथ लागिरहेका छौं । जसको लागि वडा स्तरीय अनुगमन समिति नगरस्तरीय अनुगमन समिति सबैले सहि समयमा प्राविधिक टिम सहित फिल्डमा गएर सहि समयमा अनुगमन गरीराखेका छौं ।

१२.योजनाहरुमा कमिसनको चर्चा छ यहाँको पालिकाको अवस्था के छ ?

हामीले कमिसन लिएको तथ्य, प्रमाण केहि भेटाएका छैनौँ । विना कमिसन योजनाहरु स्वीकृत भई सम्पन भएका छन् । त्यस्तो प्रमाण ल्याउनु हुन्छ भने हामी तुरुन्तै कारबाही गर्दछौँ ।

१३. पालिका समृद्ध गराउने यहाँका सपना र योजनाहरु थप भए भन्न सक्नु हुन्छ ?

स्थानीय तहलाई अझ मजबुत बनाउन आन्तरीक श्रोतहरु खोज्ने शिक्षा, स्वास्थय, खानेपानी जस्ता अति आवश्यक साथै आधारभुत कुराहरुलाई सम्पूर्ण जनताको पहुंचमा पुर्याउने । सम्पुर्ण जनतालाई न्यायको प्रत्याभूती दिलाउने, आय आर्जनसंग जोड़ने र समाजमा शान्ति स्थायित्व गर्ने योजना छ । तानसेनलाई सुन्दर र समृद्ध तानसेनका रुपमा बिकास गर्ने सपना छ ।

१४.अन्तमा केहि भन्नु छ ?

अन्तमा मलाई समय दिनुभएकोमा तपाईलाई धेरै धन्यबाद । स्थानीय तहलाई अझ बलियो बनाउनको लागि र संघियतालाई मजबुत गर्न सम्पूर्ण जनताको साथै तपाई जस्ता पत्रकारकाको पनि महत्वपुर्ण सहयोग सल्लाहको अपेक्षा सहित २०८१ सालको बडा दशै दिपावली, छठ पर्व र नेपाल सम्बत नेपालीहरुको धार्मिक, मौलिकता बोकेको पर्बहरुको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा सुख,समृध्दि र सुस्वास्थयको शुभ कामना !!