सरकारविरुद्ध माओवादी केन्द्रको खबरदारी सभा

काठमाडौं,  कांग्रेस–एमालेसहितको गठबन्धन सरकारको एक सय दिन पूरा भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सरकारविरुद्ध खबरदारीमा उत्रिँदैछ । सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पक्राउ परेदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पनि सरकारविरुद्ध आन्दोलित छ ।

केही दिनअगाडि बसेको विपक्षी दलहरुको बैठकले सरकारविरुद्ध मिलेर खबरदारी गर्ने निर्णयसमेत गरेको थियो । यी संयोगहरुका बीचमा माओवादीले शनिबार आयोजना गरेको खबरदारी सभामा रास्वपासहित अरु विपक्षी दलहरु पनि मिसिन लागेका हुन् त ? भन्ने जिज्ञासा बढेको छ ।

रास्वपा सभापति रवि लामिछाने पक्राउ परेलगत्तै प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध शक्ति प्रदर्शनसहित खबरदारी गर्दैछ । लामिछानेको पक्राउ र माओवादीको विरोध कार्यक्रम संयोग मात्र होइनन् । गत शुक्रबार बसेको माओवादी, रास्वपा लगायतका विपक्षी दलको बैठकले लामिछाने पक्राउ परे मिलेरै सरकारको प्रतिवाद गर्ने सहमति नै गरेको थियो । त्यसै दिन लामिछानेलाई सहकारी ठगी मुद्दामा प्रहरीले पक्राउ गर्यो । मिलेर प्रतिवाद गर्ने निर्णय गरेका विपक्षी दलहरु अहिलेसम्म रास्वपाको आन्दोलनमा घोषित रुपमा सहभागी भएका छैनन् ।

लामिछाने पक्राउ परेदेखि नै पोखरामा प्रदर्शन गरेको रास्वपा पनि अहिले काठमाडौं केन्द्रित प्रदर्शनमा जुटेको छ । यसले अब विपक्षी दलहलाई रास्वपा सभापतिको पक्राउकै मुद्दाले नजिक नजिक ल्याएको हो त ? भन्ने जिज्ञासा बढाएको छ । त्यतिमात्र होइन विपक्षी गठबन्धनको नेतृत्व गरेको माओवादीको खबरदारी सभामा रास्वपासमेत सहभागी हुन लागेको हो कि त ? यो प्रश्न उब्जिएको छ । तर माओवादी भने यो सभा लामिछानेविरुद्धको पक्राउमा केन्द्रित नभएको दाबी गर्छ । तर राजनीतिक प्रतिशोध र बेथितिविरुद्ध खबरदारी गर्न लागिएको जिकिर माओवादीको छ ।

माओवादी विपक्षीहरुलाई पनि जोडेर थप ठूलो शक्ति प्रदर्शनको मनसायमा छ । अहिले भने एक्लै आन्दोलन गर्न लागिको माओवादी उपाध्यक्ष भुसाल बताउनुहुन्छ । एक्लाएक्लै सरकारविरुद्ध उत्रिएका माओवादी र रास्वपा एउटै मोर्चामा जोडिन समान विषय खोज्दैछन् । रास्वपा सभापति लामिछाने सहकारी ठगी मुद्दामा पक्राउ परेकाले माओवादीलाई यो मुद्दा बोक्न लोकलाजले छेकेको देखिन्छ ।

रास्वपा भने माओवादीले संयुक्त विरोध सभा गरे तत्कालै जोडिन इच्छुक देखिन्छ । मंहगी, भ्रष्टाचार, बेतिथि र बाढी पहिरो पीडितलाई राहत उपलब्ध गराउन दबाब दिने उद्देश्यले आन्दोलन गर्न लागेको माओवादीको दाबी छ । तर राजनीतिक प्रतिशोधको मुद्दा पनि माओवादीले बोकेको छ । यो लामिछाने पक्राउसँग जोडिएको मुद्दा हो ।

शनिबार भृकुटीमण्डममा हुने प्रदर्शनका लागि माओवादीले देशभरबाट पार्टीका नेता कार्यकर्ता काठमाडौं ओराल्ने तयारी गरेको छ ।