समुदायको पहरेदारी बृद्धि गर्न खुल्ला शैक्षिक सम्वाद

जाजरकोट,  नलगाड नगरपालिकामा शैक्षिक सम्वाद सम्पन्न भएको छ । समुदायको पहरेदारीलाइ बृद्धि गर्न नलगाड नगरपालिकामा बिहिबार शैक्षिक सम्वाद सम्पन्न भएको हो ।

गुणस्तरीय शिक्षा प्रवद्र्धनमा समुदायको पहरेदारीलाइ बृद्धि गर्न सरोकारवाला र स्थानीय सरकार बीच खुल्ला सम्वाद गरिएको थियो । नगरपालिकाको आयोजनामा संचालित शैक्षिक सम्वाद कार्यक्रमको सहजीकरण केएर नेपालको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियान जाजरकोटले संचालन गरेको ‘बालिका सशक्तिकरण’ परियोजनाले गरेको थियो ।

शैक्षिक सम्वाद कार्यक्रमका सहभागीलाइ नलगाड नगरपालिकाले खाजाको व्यवस्थापन गरेको थियो भने, अन्य व्यवस्थापन ‘बालिका सशक्तिकरण’ परियोजनाले गरेको थियो ।

बाग्यश्वरी असल शासन क्लबका कार्यकारी निर्देशक नमस्कार शाहले सहजीकरण गरेको शैक्षिक सम्वाद कार्यक्रममा नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत गोपाल बहादुर शाही, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बलवीर विक, शिक्षा स्रोत व्यक्ति मणिराम पोखरेल, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ज्योति रावल, स्वास्थ्य शाखामा कार्यरत भगवति कुमारी बोहोरा, सुचना अधिकारी नारायण खत्री, विपद व्यवस्थापन शाखा प्रमुख सिर्जना बडुवाल, वडा नं. ३ का अध्यक्ष कौशी बहादुर बिष्ठ, वडा नं. ७ का अध्यक्ष कृष्ण बहादुर गिरी वक्ता रहेका थिए ।

नलगाड नगरपालिकाका १६ वटा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, बाल क्लवका प्रतिनीधिहरुले खुल्ला शैक्षिक सम्वाद कार्यक्रममा विभिन्न जिज्ञासामुलक सवालहरुको जवाफ दिन माग गरेका थिए । भुकम्प पीडितहरुलाइ प्रयाप्त र सन्तुलित रुपमा राहत वितरण गर्न नसकेको, विकास साँझेदारबाट पुर्ननिर्माण गरिने भुकम्पले क्षेतिग्रष्त विद्यालय भवन छनौटमा पक्षपात गरेको, निर्वाचनमा भोट माग्न मात्र गाउँ टोलमा पुगेता पनि हालसम्म गाउँ टोलका नागरिकका पीरमर्का बुझ्न जनप्रतिनीधि नपुगेको जस्ता सवालमा जवाफ दिन सहभागीहरुले वक्ताहरुसंग माग गरेका थिए ।

नलगाड नगरपालिकामा भोट माग्न निर्वाचनको बेला पनि पुग्न नसकेका गाउँ टोलहरु रहेको नगरप्रमुख रावतले स्वीकार गर्दै आगामी दिनमा सवै गाउँ टोलमा पुगेर जनताका आवश्यकता र मागहरुलाइ संकलन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

खुल्ला शैक्षिक सम्वाद कार्यक्रमका वक्ताहरुले ७ बुँदे सावर्जनिक प्रतिवद्धतामा हस्ताक्षर गरेका थिए । हस्ताक्षर गरिएको सार्वजनिक प्रतिवद्धतामा माध्यामिक तहसम्मको निशुल्क शिक्षाको प्रावधान विपरित धेरै विद्यालयहरुमा विद्यार्थीबाट शुल्क लिने गरेको गुनासो प्राप्त भएकाले आगामी दिनमा शुल्क नलिन सम्बन्धित विद्यालयलाइ निर्देशन गर्ने, निर्देशन कार्यान्वयन नभएमा कानुनी कार्वाही गर्ने भनिएको छ–विद्यालयमा हुने परिक्षालाइ थप व्यवस्थापन गर्ने, सुर्योदय मावि कैनाबाट पुस्तकालय स्थापना माग भएकोले सो माग लिखित रुपमा प्रस्तावनाका रुपमा प्राप्त भएमा पालिकाबाट सहयोग गर्ने । नुभक्त मावि लहँको प्राङ्गणमा पुरिएको माटो पन्छाउन नगर पालिकाले सहयोग गर्ने । नलगाड हाइड्रो पावरको भवनमा गोदाम बनाइ भण्डारण गरिएको राहत सामाग्री नियम अनुसार वितरण गर्नुको साथै विपद व्यवस्थापनका लागि व्यवस्थित स्थानीय आपतकालिन कार्यसंचालन केन्द्र स्थापना गर्ने उल्लेख गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अविभावक संघ र शिक्षकहरुको क्षमता अविबृद्धिका लागि विभिन्न तालिमहरु प्रदान गर्ने । पालिकाबाट शैक्षिक प्रोफाइल तथा शैक्षिक योजना तर्जुमा गर्ने, विद्यालय पहुँच बाहिर रहेका विद्यार्थीहरुलाइ विद्यालयको सिमाभित्र ल्याउन तत्काल कार्ययोजना निर्माण गरि लागु गर्ने । समतामुलक र गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि सबै सरोकारवालाहरु प्रतिवद्ध रहने हस्ताक्षर गरिएको सार्वजनिक प्रतिवद्धतामा उल्लेख गरिएको छ ।