रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको पुष्टि गरे । आजै जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । अदालतमा भएको बहसपछि न्यायाधीशले म्याद दिएसँगै अब प्रहरीले अनुसन्धान कार्य अघि बढाउनेछ ।

उनलाई अदालतमा पेश गर्नअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा भएका थिए ।