कर्णालीको अनौठो प्रथा : कटुवाल प्रथा

वर्तमान समयमा सूचना तथा सञ्चार क्षेत्रको विकासले सिंगो विश्व नै एउटा गाउँमा परिणत भएको छ । स्मार्ट प्रबिधिको बिकाससंगै पुराना परम्परागत सुचनाका साधनहरु लोप हुन थालेका छन । पछिल्लो समय प्रविधिबाट खबर आदानप्रदान गरिए पनि कर्णालीका अर्धिकांश गाउँमा अहिले पनि सूचना प्रवाहको पुरानै शैली कायम छ । त्यो हो, कटुवाल प्रथा अर्थात् कराएर,बाजा बजायर नयाँ खबर गाउँलेलाई सुनाउने गरिन्छ ।

मुड्केचुला गाउँपालिका–५ इलमा अहिले पनि कटुवाल प्रथा कायमै छ । स्थानीय ४५ वर्षीय नन्दे नेपालीले कटुवाल प्रथा धानिरहेका छन् । उनले कराएर गाउँलेलाई शुभ, अशुभको खबर सुनाउँदै आएका छन्। त्यसअघि उनका बुवाले यही पेसा गर्थे। बुवाको बिँडो थाम्दै उनले गाँउलेको खबर आदानप्रदान गर्ने पेसा धान्दै आएका हुन्।

गाउँमा हुने भेला तथा बैठक, विवाह, पूजा–आजा, भोज भत्तेर, सामुदायिक वनको भेला, वडा कार्यालयका भेला तथा बैठक जस्ता गतिविधिको बारेमा गाउँलेलाई जानकारी दिन्छन्। गाउँको अग्लो ठाउँ वा बीच भागमा पुरेर ठूलो स्वरमा गाउँलेलाई खबर सुनाउँछन्। सोही सूचनाका आधारमा गाउँहरूले सम्बन्धित ठाउँमा पुग्छन्।

वर्षौंंदेखि दैनिकजसो गाउँलेलाई सूचना बाँडिरहेका छन्। सामूहिक रूपमा हुने हरेक गतिविधि आयोजकले पहिले नै उनलाई खबर गर्छ। आफूले पाएको सोही सूचना गाउँका करिब एक सय बढी घरपरिवारलाई सुनाउँछन्। अग्लो डाँडामा गएर उनी कराउन थालेपछि गाँउलेहरू उनको कुरा ध्यान दिएर सुन्छन्।  कटुवाल प्रथाले स्मार्ट प्रविधिको विकास हुनुअघि नेपालमा यसरी नै सूचना आदानप्रदान गरिन्थ्यो। यो प्रथा अहिले पनि दुर्गम भेगमा जीवितै छ। शाहकालीन समयमा सूचनावाहकका लागि गाउँमा कटुवाल राख्ने चलन थियो। जसबापत प्रशासन कार्यालयले कटुवाललाई खरिदार सरहको सेवा सुविधा दिन्थ्यो।

हेर्नुहोस भिडियो कथा…