दलालसत्ताले निम्त्याएको संकट

”नेपालको संविधान २०७२ ले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको नाममा प्रवेश गराई उहीँ नयाँ बोतलमा पुरानो रक्सी भर्ने काममा मात्र सिमित हुन पुगेको छ।”

भुमिका :

दस वर्षे महान जनयुद्धको जगमा भएको जनआन्दोलन पश्चात यो देशमा करिब २४० वर्ष देखि सत्ताको बागडोर समाली सामन्तवादको प्रतिनिधित्व गरिरहेको संस्था निरकुंस राजतन्त्रको वि सं २०६५ साल जेठ १५ गते अन्त्य हुनगई गणतन्त्रको स्थापना भयो । पहिलो संविधान सभाको विघटन सँगै तत्कालीन नेकपा माओवादीको नेतृत्वले वर्गीय पक्षधरलाई छोडी पुरानै दलाल सत्ता र व्यवस्थाको छानोमा ओत लाउन पुग्यो । आफ्नो वर्गलाई धोका दिएर उसले दलालपुजीँपतिहरू सँग सम्झौता गर्न गर्‍यो । त्यो सँगै हामीले वि सं २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा क्रान्तिलाई अगाडी बढाउने उदेश्य लिएर नेकपा-माओवादी (जसलाइ ड्यास माओवादी पनि भनिन्थ्यो)  नामकरण गरि आन्दोलनलाई अगाडी बढायौं । तर वैद्य सँग र पछि विप्लवमा पनि क्रान्तिकारी दृष्टिकोणमा समस्या आएपछी आज हामी नेकपा (बहुमत)को नेतृत्वमा वैज्ञानिक समाजवादको यात्रामै हाम्रो क्रान्तिकारी पाइला सक्रियता पुर्वक चाल्दै आइरहेका छौँ ।

यद्यपि २०७० सालको  संविधान सभाको दोस्रो निर्वाचनको जगमा स्थापना भएको नेपालको संविधान २०७२ ले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको नाममा प्रवेश गराई उहीँ नयाँ बोतलमा पुरानो रक्सी भर्ने काममा मात्र सिमित हुन पुगेको छ। जसकारण देशमा राजनीतिक अस्थिरता बनाएर यहाँका राजनीतिक जनप्रतिनिधि, कर्मचारी लगायत अन्य दलालहरु मार्फत साम्राज्यवादी शक्तिहरुले आ-आफ्नो अनुकुल अनरुप सरकार निर्माण गरि आफ्नो स्वार्थ र आवश्यकताहरु परिपुर्ति गर्ने खालका काम गराउदैँ आएका छन । जसले गर्दा आज देश प्रत्यक्ष उपनिवेशमा नभई नवउपनिवेशमा गएको पाइन्छ । देशमा निम्न प्रकारको गम्भीर संकटहरु देखा परिरहेको छन् ।

१. राजनितीक संकट :

वर्तमान दलाल व्यवस्थाका कारण देशमा राजनितीक संकट चुलिएको छ । आज देशको प्रमुख सत्ताको समस्या भनेको राजनीतिक अस्थिरता हो । वि सं २०६४ साल देखी ०८१ सम्मको यो १७ वर्षको अवधीमा १४ वटा प्रधानमन्त्री बनी सरकार गठन विघटनको खेल चलिरहेको छ । यो नै संसदीय व्यवस्थाको चरम राजनीतिक अस्थिरताको संकट हो ।
आज दलाल पुँजीवादी संसदिय सत्ताको संकटले गरेको भ्रष्टाचार र आएको संकट हिजो देखि गर्दै आएको बिदेशीहरूको दलालीले आज सम्म पनि चर्को दलालिकरणले संसदवादी राजनीति विचार शून्य अवस्थामा पुगेको छ । सिद्धान्तहीनता, विचारहिनता, पथ भ्रष्टता, दलालीकरण र भ्रष्टाचार दैनिकी जस्ता भएका छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबै क्षेत्रमा भागबण्डा, जोड–घटाउ, जालसाजी, षडयन्त्रको गठबन्दन यसैमा मात्र सिमित भएको छ । कर्मचारीतन्त्र, उद्योगी, व्यवसायी, अदालत, सेना, प्रहरी आदी सबै यसको सिकार भएका छन् । सरकार बनाउने, गिराउने, खरिद बिक्री गर्ने आदि सारा चर्तिकलाहरु प्रबृतिको रुपमा दोहोरिएका मात्रै छैनन् यी दैनिकी जस्ता भएका छन् । पद, कुर्सी, पैसा, गुट, उपगुटका स्वार्थहरुमा हानथाप, आपसी भिडन्तहरूले  दलाल पुँजीवादी सत्ताको चरित्र जनताका सामु उदाङ्गो भएको छ । सत्ता र पदका निम्ति जे पनि गर्न तयार हुने देशको साधनस्रोत विदेशीहरूसँग मोलमोलाई गर्ने जस्ता निकृष्ट र तुच्छ कामहरु भइरहेका छन् । यो संसदीय राजनीतिमा निष्ठा, इमान र नैतिकता भन्ने चिज बाँकी छैन । संसदीय पार्टी, नेता र व्यवस्था प्रति जनताको मनभावना भङ्ग हुन पुगेको छ । समग्रमा संसदीय व्यवस्था चरम संकटमा पुगेको छ ।

”एकातिर राज्यसत्ता संचालन गर्नेहरू रातो कार्पेटमा हिडेर देशमा सुशासन र विकाशको गफ हाकिरहेका छन् भने अर्कातिर त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको एउटा ढोकाबाट देश छाड्ने युवाहरूको लाम छ, अर्को ढोकाबाट विदेशबाट युवाहरूका लासका बाकसहरू भित्रीरहेका छन । तर शासकहरूभने उनिहरूले पठाएको रेमिट्यान्समा मोजमस्ती गरिरहेका छन् ।”

परिणाम यसले राजनीतिक एवम् वित्तीय सङ्कट, असमानता, शोषण, उत्पीडन, गरिबी, भोक, रोग, महामारी, वातावरण विनाश एवम् जलवायु परिवर्तनलाई निम्त्याएको छ । एकातिर राज्यसत्ता संचालन गर्नेहरू रातो कार्पेटमा हिडेर देशमा सुशासन र विकाशको गफ हाकिरहेका छन् भने अर्कातिर त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको एउटा ढोकाबाट देश छाड्ने युवाहरूको लाम छ, अर्को ढोकाबाट विदेशबाट युवाहरूका लासका बाकसहरू भित्रीरहेका छन । तर शासकहरूभने उनिहरूले पठाएको रेमिट्यान्समा मोजमस्ती गरिरहेका छन् । देशमा केही धनीहरूको प्रभुत्व, भुमण्डलिकृत पुँजीवादले लादेको बजारमाथीको एकाधिकार अधिपत्यले जनतालाई शिक्षा,स्वास्थ्य महङ्गो छ बनाएको छ । उनिहरू उघोग कलकारखाना, कृषिमा लगानी गर्दैनन् बरु युवाहरूको व्यापार गरिरहेका छन्   ।

देशमा भएका प्राकृतिक साधन स्रोतहरु सबै संसदीय पार्टीका नेता, कार्यकताको मिलेमतोमा दोहन भैरहेको छ भने त्यसैमा पनि चरम कमिसनखोरी र भष्ट्राचार हुने गरेकोछ । दलाल पुुँजीवादले राष्ट्रिय उद्योग धन्दा र जनताको अर्थतन्त्र पूरै ध्वस्त बनाउदै लगेको छ । यसरी भ्राष्टाचार र अनिमयता गरि आर्जेको पैसा संसदवादीहरूले निर्वाचनमा मान्छे खरिदबिक्री गर्न प्रयोग गरिरहेका छन् । संसदिय पार्टीहरु जनताको घरमा चुनावको बेला भोट माग्न जाँदा जनताको विचार, सिद्धान्त र योजना भन्दा पनि जनताको भोटबैंकलाई  रास्ट्रघात, जनघातको लागी लाइसेन्स लिन उपयोग गर्ने गरेका छन् । युवा युवतीलाई झुटो सपना देखाउदै रक्सी र मासुमा भोट किन्छन । राज्यको अर्बौं पैसा सिध्याउछन र जिते पछि जनताको घर दैलोमा झुक्किएर पनि फर्किदैनन । युवा युवती र आम उत्पिडित जनताहरुलाई दिएको सपना सपनामा नै तुहाईन्छ ।  तर लाखौं खर्च गरेर जिताएर पठाएका वडा, गाउँ, नगर, प्रदेश र केन्द्रका सांसद मन्त्रीहरु आफ्नो सरकार रहुन्जेल चुनावमा गरेको लगानी कसरी उठाउने भन्ने भ्रष्ट सोच सहित सत्तासिन हुन्छन र भ्रमण खर्च, यातायात खर्च, ईन्धन खर्च, मर्मत, यातायात खर्च, प्रशासकिय खर्च, बिधुत खर्च, ईन्टरनेट खर्च, पानीको खर्च लगायतका नाममा अकुत भ्रष्टाचार गर्छन् । यसरी वर्तमान दलाल संसदिय व्यवस्थाले आफैभित्र चरम राजनितीक संकट खडा गरिदिएको छ ।

२. आर्थिक संकट, भ्रष्टाचार र बेरोजगारी :

खास गरि वि.स. २०४६ सालयता नेपाली काङ्ग्रेसको  सरकारले उदारीकरणको निती लिएर त्यसैका नाममा देशमा स्थापना भएका उद्योग कलकारखाना कौडिको भाउमा बेच्यो । जसले भर्खर स्थापना भएका कलकारखानालाई चौपट बनायो भने देशमा विदेशी लगानिको कृडास्थल बनाईदियो ।  देशमा आजको जुन यो खालको जनतामा आर्थिक संकट थोपरिदै गएको छ यसको सुरुवात त्यही आर्थिक उदारिकरणबाट भएको थियो । भएका कलकारखाना समेत निजिलाई बेचेर देशको आफ्नो उत्पादनलाई पुरै ध्वस्त बनाएर उदारीकरणमा लैजानुले देशलाई पुरै परनिर्भर बनाईदियो । जसका कारणले देशले नुनदेखी सुनसम्म, दियो देखि जनैसम्म आयत गरिरहेको छ भने आज नेपालको व्यापारघाटा दिन दईगुणा र रातचौगुणाको दरले बडिरहेको छ ।

हामीले २०७९/०८० को डाटा मात्रै हेर्‍यौँ भने नेपालले १४ खर्ब भन्दा बडी व्यापार घाटा बेहोरेको छ । जसको परिपुर्ति बिप्रेषणले गरिरहेको छ । आज साढे ५८ लाख नेपाली गरिबीको रेखामुनि रहेका छन् । यसको साथै नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड पुगेको छ । एकातिर  देश आफ्नो उत्पादन नभएर टाट उल्टिरहेको छ अर्कातिर भने देशमा नितिगत भ्रष्टाचार चरम चुलिमा मौलाएको  छ ।  सहकारी, लघुबित्त बैंकहरु दलाल सत्ताका आसेपासेको कब्जामा छन् । बिगत देखि हुदै आएको सम्झौता र भ्रष्टाचारलाई हेर्ने भने सयौं छन जस्तै भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचार, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा देखिएको ७० करोड कमिसन मोलमोलाइको अडियो प्रकरण, ललिता निवास, एनसिएलको कर १३ अर्ब मिनाहा गरेको छ अरु कर तिर्नु पर्ने बिस्तारै तिरे हुन्छ भन्दै अर्बौं कमिसन खेल छ, सुन काण्ड, गिरि बन्धु टि स्टेट काण्ड, ह्वाइट बोडी जाहाज प्रकरण, फेवाताल अतिक्रमण, मणिपाल हस्पिटले राज्यलाई तिर्नु पर्ने २१ करोडको कर निश्चित व्यक्तिले घुस खाएर मिनाह गरि गरिएको काण्ड, कैलाली कञ्चनपुरको जग्गा प्रकरण सम्म आइपुग्दा दलाल सत्ताले गरेको भ्रष्टाचार छताछुल्ल भएको छ । यी काण्डहरुले सत्तामा भएका संसदिय दलाका नेताहरु देश जनता प्रति उतरदायि छैनन् भने कुरा यी सबै भ्रष्टाचार र सम्झौताले प्रष्ट बुझिन्छ ।

नेपालमा बेरोजगारीको समस्याहरु त्यस्तै प्रकारको छन ।दैनिक २५०० देखि ३००० सम्म युवा विदेशिने र दैनिक तीन देखि पाचवटा लास अन्तर्राष्ट्रिय विमान स्थल मार्फत बाकसमा प्याक भएर फर्किने अवस्था बनेको छ । अर्को तिर जनतामारा दलाल सत्ताको कारणले गएको ५ बर्षमा मात्र करिब ३४ हजार ३ सय १८ जनाले आत्माहत्या गरेका छन पछिलो ८ बर्षमा मात्र सडक दुर्घटनामा १७ हजार, प्लेन दुर्घटना र बाडि पहिरोमा परेर मृत्युु हुनेको संख्या तेस्तै डर लाग्दो छ । यस कारणले दलाल संसदीय सत्ता आतंककारी र जनता मारा आज भन्दा भोलि झन झन भन्दै गएको छ । अर्को तिर बैंक, सहकारी, लघुबित र सबै खाले वित्तीय शोषणका कारणले ४२ लाख वरिपरि जनताहरुलाई घर वास बिहिन बनाउदै लेगेका छ । यी तमाम खाले समस्याले देशको अर्थतन्त्रमा चरम संकट पैदा गरेको छ भने त्यसले देशमा बेरोजगारी, गरिबी जस्ता समस्या निम्त्याएको छ भने देशलाई दिनदिनै पराधिन समेत बनाएको छ ।

३. सामजिक र सांस्कृतिक संकट :

नेपाल बहुभाषिक, बहुसाँस्कृतिक लगायतका विशेषताले भरिपुर्ण विवधता युक्त मुलक हो । तर आज सम्म पनि सामाजिक विभेदहरु अन्त्य हुन सकिरहेको छैन । उदाहरणको लागि पछिल्लो १० जेठ २०७७ मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज वि.क. आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरुसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए । त्यस क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटी लखेटी नवराज विकसहित ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए । र काभ्रेका अजित मिजार, कालीकोटका मानविरे सुनार लगायतका तमाम जातीय विभेद हुँदै आएका छन । जातीय विभेद विरुद्धमा यो राज्य हुँदो हो त समाजमा जातको आधारमा कुनैपनि दलित, महिला, मधेसि मारिने थिएनन्, अन्तरजातीय विवाहले समाजमा मान्यता पाउनेथियो । दलितका पक्षमा राज्यले आफ्ना बहस र कार्यक्रम चलाउँथ्यो । राज्यले सञ्चालन गर्ने छुवाछूत विरुद्धका बहस आमसञ्चार जगत्बाट देशैभर घन्किन्थे । तर यो हाम्रो कल्पना मात्र हो । यो राज्य जातीय विभेदका विरुद्धमा छैन । राज्यले नै समाजमा जात व्यवस्थाको जरा मलजल गर्ने काम गरी नै रहेको छ ।समाजमा जातका आधारमा हुने घटनाको रमिते राज्य नै बनिरहेको छ ।

साथै लैंगिक विभेद अझ नयाँ ढङ्गले भइरहेकै छ । अर्को तिर हाम्रो सास्कृतिलाई हस्तक्षेप हुने गरि हाम्रो पाठ्यक्रममा अंग्रेजी भाषा अनिवार्य राखिएको हुनाले हाम्रो मौलिक भाषाहरु लोप हुँदै गएका छन । पहिले हाम्रो परिवार सामुहिक रूपमा बस्थे भने आज एकल परिवारको अवधारणा विकास भएको छ । स्वदेशीमाथी विदेशी संस्कृतिले अतिक्रमण गरिरहेको छ ।  यसरी हाम्रो राम्रा संस्कृति परम्परा बिस्तारै लोप हुँदै विघटन संघारमा पुगेको छ भने विदेशी भाषा, संस्कृति हाबी हुँदै गएको छ । यहाँको मौलिकता हराउदै गैरहेको छ । भाषा संस्कृति लोप हुने खतरा बढेको छ भने समाज बिघटनको दिशातिर उन्मुख भैरहेको छ । तर दलाल सत्ता यो सबैको रमिते बनिरहेको छ ।  यो कसरी भयो भन्दा वर्तमान दलाल राज्यसत्ताको व्यापारी र नाफाखोरी नितिका कारण आज देश समाजिक सांस्कृतिक रूपमा रूपमा पनि बिघटन उल्मुख हुदै गको छ।

४. शिक्षा र स्वास्थ्यको संकट :

राजनीतिक प्रणाली र शिक्षा अन्तर सम्बन्धित हुन्छ । देशको राजनीतिक निति जस्तो छ त्यसलाई सेवा र संरक्षण गर्ने खालको शिक्षा हुन्छ । त्यसो हुँदा नेपालको राजनीतिक प्रणाली दलाल पुँजिवाद रहेको छ । र दलाल पुँजिवादलाई सेवा र संरक्षण गर्ने हाम्रो शिक्षा निति छ । जसकारण शिक्षा सरकारी र निजि गरि वर्गीय विभाजनको रेखा त्यही कोरेको छ । र शिक्षा सैद्धान्तिक र सुगा रटाई बनाई विद्यार्थीको इच्छा, चाहना, क्षमता र उसको आवश्यकतालाई सम्बोधन गर्न सकिरहेको छैन् । विद्यार्थीलाई उत्पादन, सीप, श्रम र रोजगार सँग जोडेको छैन् । आजको विज्ञान र प्रविधि प्रयोग गरेको छैन् ।  नेपालको माटो यहाँको प्राकृतिक स्रोत साधन र समाजको आवश्यकतालाई पहिचान गरि परिचालन गर्ने शिक्षा निति छैन । यसरी विद्यार्थीलाई शैक्षिक बेरोजगार बनाई विदेशिन बाध्य बनाएको छ । अहिले सबै विद्यार्थी १२ पास गरेपछी कुन देश जाने भन्ने पहिले नै मानसिकता बनाएर बसेका हुन्छन । अहिले विश्वविद्यालय पढ्ने विद्यार्थी भेटिनेवाला छैनन् । पछिल्लो चरण हामीले हेर्यौँ भने नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ५ महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएको छ । यसमध्ये शिक्षाका लागी मात्र ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको हो । यसरी हाम्रो पुँजी र युवा शक्ति दुबै पलायन भएका छ्न । त्यसैगरि स्वास्थ अवस्थामा त्यस्तै प्रकारको समस्याहरु छन । पहिलो स्वास्थ उपचार यति महङ्गो भएको छ कि गरिबले उपचार गर्न सक्ने अवस्था नै छैन । गरिब बिरामी हुन पर्दा उपचार गर्ने होइन मृत्यु कुर्नु पर्ने बाध्यता छ । उपचार गर्दा बिल धेरै आएर तिर्न नसक्दा हस्पिटलकै छतबाट हाम फालेर मर्ने संख्या बढिरहेका छन । सरकारी अस्पतालमा औषधि  पसलमा औषधि पाईदैन बरु कमिसनको खेलले निजि औषधि पसलमा मात्रै पाईन्छ । देशका तमाम हस्पिटलमा उपचार नपाए मर्नु परेको अवस्था छ । यसरी शिक्षा र स्वास्थको जिम्मेवारीबाट राज्य भागेको छ ।

निचोड :

आज यी तमाम खाले समस्या र भ्रष्टाचारले राजनितिक, आर्थिक, बर्गिय, जातीय, बिरोजगरी, सामाजिक, सास्कृतिक, स्वास्थ्य, शिक्षा, न्यायपालिका, कार्यपालिका, ब्यवस्थापिकामा देखा परेका तमाम खाले समस्या र भ्रष्टाचारका कारणले नेपालका उत्पिडित जनताहरु सन्तुष्ट हुने अवस्था छैन । सबै क्षेत्रमा समस्या र अभाबै अभावमा जनताहरुले बिताएका छन दिनहरु यी तमाम समस्याले नेपालमा अर्को क्रान्तिको सम्भावना नजिकै आएको छ । पछिल्लो एक दशक यता साना-साना असंगठित बिद्रोह र आन्दोलनका भुल्काहरू देखा परेका छन । कुनै भुल्काहरु भ्रष्टाचारका बिरुद्ध त कुनै भुल्का सत्ता परिवर्तनका लागी आन्दोलन हुँदै आएको छ । कुनै जातीय रूपमा कुनै एक प्रदेश एक मधेसको नाममा देखा परेका छन् । यी सबै क्रान्ति र आन्दोलनले नेपालमा शान्ति समृद्धि सुशासन र अमन चयन, अभावको कारणले हुने गरेका छन । यो जनताको बिद्रोह सत्ता प्रतिको वितृष्णा हो । यो अवस्थाले नेपालमा क्रान्तिको आँधिबेरी छिटै आउछ र हामीले क्रान्तिकारी पार्टीको निर्माण गर्दै आजको क्रान्तिलाई थेक्ने सचेततापुर्वक वैचारिक स्पष्टता भएका संगठित नेता, कार्यकर्ताको पङक्ती आवश्यक पर्न गएको छ । त्यसकारण हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले यो कार्यभारलाई पूरा गर्न स्पष्ट कार्यदिशा, कार्यनीती र कार्यक्रम मार्फत उत्पीडित जनतालाई गोलबन्द गर्दै आन्दोलन र क्रान्तिको दिशामा अगाडी बढाईरहेको छ । जुन एक जिम्मेवार राजनितीक पार्टी र प्रत्येक युवाहरूको अहिलेको वर्तमान कार्यभार हो ।

लेखक  – नेकपा (बहुमत) का नेता तथा नवौं महाधिवेशन आयोजक समिति सदस्य हुनुहुन्छ ।