कालिकोटको मान्मामा एक व्यक्ति मृत फेला

मान्मा, कालिकोटको मान्ममा एक व्यक्ति मृत फेला परेका छन । मृत भेटिनेमा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ का ३७ वर्षीय राजेन्द्र सिजाली मगर मृत फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाका अनुसार उनी खाँडाचक्र नगरपालिका–१, को नाव गैरास्थित एक घर अगाडिको आँगनमा मृत भेटिएका मगर ज्याला मजदुरीका लागि मान्म बस्दै आएका थिए ।

‘मृतक कोठामा पनि एक्लै बस्नुहुने रहेछ, उहाँसँग अरू कोही पनि रहेनछ,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट अत्यधिक मदिराको प्रयोग गर्ने हुँदा त्यसैको असरका कारण मृत्यु भएको हो कि भन्ने अनुमान छ ।’

उनी मृत अवस्थामा भेटिएको नजिकै पनि मदिराको बोतल भेटिएको छ । यद्यपि घटनाबारे थप अनुसन्धान भने भइरहेको थापाले बताए । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल कालिकोटमा लगिएको छ भने दैलेखबाट मृतकका आफन्तलाई बोलाइएको छ ।