सफलताका लागि आमाको लात…

कक्षा ६ मा पढ्ने बालबालिका राष्ट्रिय निकुञ्जको शैक्षिक भ्रमणमा थिए । जंगलमा उनीहरूले एउटा पोथी जिराफले बच्चा जन्माउँदै गरेको दुर्लभ दृश्य देखे । उनीहरूको गाडी झाडीबिच रोकियो । सबै उत्सुकतापूर्वक सो दृश्य हेर्न लागे । पोथी जिराफ निकै अग्लो थियो । जन्म लिँदै गर्दा उसको बच्चा लगभग १० फिटको उचाइबाट जमिनमा फ्यात्त खस्यो । खस्नासाथ उसले आफू आमाको काखमै भएजस्तो गरी आफ्ना खुट्टा खुम्च्यायो । बच्चालाई जन्म दिइसकेपछि आमा जिराफ बच्चालाई हेर्न थाल्यो । विद्यार्थीहरू पनि बडो उत्सुकतापूर्वक त्यतै हेर्दै थिए । अचानक आमा जिराफले बच्चालाई जोडले एक लात हिर्कायो । बच्चा जिराफ बसिरहेको स्थानबाट एक बल्ड्याङ पल्टियो ।

सो दृश्यले विद्यार्थी झस्किए । उनीहरूले शिक्षकसित अनुरोध गरे– सर, तपाईं त्यो आमा जिराफलाई रोक्नुहोस् न । नत्र त त्यसले बच्चालाई मार्छ । शिक्षक केही बोलेनन् । उनले विद्यार्थीलाई शान्त रहेर हेरिरहन संकेत गरे र आफू पनि हेर्न थाले । बच्चा जमिनमा राम्ररी बस्न पनि सकिरहेको थिएन, आमा जिराफले फेरि उसैगरी अर्को लात हिर्कायो । आमाको दोस्रो लातपछि बच्चा जसोतसो अडिएर चार खुट्टाले उभियो । बिस्तारै यताउता गर्दागर्दै ऊ हिँड्न थाल्यो र एकैछिनमा आमासितै झाडीमा हरायो ।

विद्यार्थीले शिक्षकलाई पुनः प्रश्न गरे– सर, आमा जिराफले किन त्यसरी लात हान्यो ? बच्चालाई जे पनि त हुन सक्थ्यो नि ? शिक्षकले भने– जंगलमा सिंह, चितुवा, बाघजस्ता हिंस्रक जनावरको कमी छैन । यहाँ कुनै पनि जनावरको बच्चा कति छिटो आफ्नो खुट्टामा उभिएर दौडिन सक्छ, उसको जीवन त्यसैमा निर्भर हुन्छ । आमा जिराफले लात नहानेको भए सायद बच्चा अझै भुइँमै लडिरहेको हुने थियो र कुनै हिंस्रक जनावरको सिकार पनि हुन सक्थ्यो ।

भाइबहिनीहरू, यसैगरी बाबाआमाले पनि तपाईंहरूलाई हप्काउनुहुन्छ, सम्झाउनुहुन्छ र कहिलेकाहीँ पिट्नु पनि हुन्छ होला । तपाईंहरूलाई नराम्रो पनि लाग्छ होला । तर, उहाँहरूले तपाईंहरूलाई जीवनमा सक्षम बनाउन त्यसो गरिरहनुभएको हुन्छ । त्यसबाट तपाईंहरू निराश हुनुको साटो उत्साहित भएर अघि बढ्नुहोस् । सफलता तपाईंहरूको हातमा हुनेछ  । मोटिभेटन्युजबाट