प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीश राउतलाई आइतबार नेपालकाे प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको थियाे । समितिले गत बुधबार राउतको संसदीय सुनुवाइ गरेर सर्वसम्मत नाम अनुमोदन गरेको थियाे।

पूर्वप्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले २० असोजमा उमेरहदका कारण अवकाश पाउने भएपछि न्यायपरिषद्ले दिएको न्यायाधीशको सूचीका आधारमा रिक्त हुने पदका लागि संवैधानिक परिषद्ले ३१ भदौमा वरिष्ठताका आधारमा राउतको नाम सिफारिस गरेको थियो ।

संसदीय समितिले ३ असोजमा उजुरी आह्वान गरेर राउतविरुद्ध सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको थियो । राउतविरुद्ध आएका ६ वटा उजुरीमा गत मंगलबार उजुरीकर्तासँग छलफल गरेको समितिले गत बुधबार सुनुवाइ गरी अनुमोदन गरेको हो । राउत ०८२ चैतसम्म प्रधानन्यायाधीश रहनेछन् । पूर्वप्रधानन्यायाधीश श्रेष्ठको बुधबार सर्वोच्च अदालत प्रशासनले बिदाइ गरिसकेको छ ।

नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ आजै दिउँसो साढे १ बजे हुँदै छ ।