नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट विद्युत्‌ खरिदबिक्री सम्झौता

काठमाडौँ, नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्रीसम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ । बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत विक्री सम्झौता भएको हो।

त्रिपक्षीय सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेणु नाराङ र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)का अध्यक्ष मोहमद रिजाउल करिमले हस्ताक्षर गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ र बंगलादेशका अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा त्रिपक्षीय सम्झौता भएको हो । नेपालले भारतसँग मात्रै विद्युत् व्यापार गर्दै आएकोमा अब बंगलादेश पनि जोडिएको हो ।

यसअघि ४० मेगावाट बिजुली खरिदबिक्री गर्न साउन १३ मा सम्झौता हुने भनिएको थियो। तर सम्झौता नहुँदै बंगलादेशमा सरकारविरुद्ध विद्यार्थीको देशव्यापी प्रदर्शन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन् । त्यसपछि बिजुली खरिदबिक्री सम्झौताबारे अन्योल सिर्जना भएको थियो । तर बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने प्रक्रियालाई निरन्तरता दिने बताएपछि सम्झौता भएको हो ।