भारतको मणिपुरमा हिंसा : पाँचको मृत्यु

मुम्बई । भारतको द्वन्द्वग्रस्त उत्तरपूर्व क्षेत्रमा शनिबार भएको झडपमा कम्तीमा पाँचजनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् । युद्धग्रस्त म्यानमारसँग भारतको सीमास्थित जिरिबाम जिल्लामा भएको पछिल्लो झडपमा पाँचजनाको मृत्यु भएको हो ।

“जिरिबाममा बिहानदेखि नै दुई समुदायबीच झगडा भइरहेको छ । हालसम्म झडपमा पाँचजनाको मृत्यु भइसकेको छ र हामी थप विवरणको प्रतीक्षामा छौँ,” एक स्थानीय सरकारी अधिकारीले भने ।

सुतिरहेका बेला गोली हानी एकजनाको हत्या गरिएको थियो । त्यसपछि भएको गोली हानाहानका क्रममा सशस्त्र समूहका अरू चारजनाको मृत्यु भएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।

मणिपुर राज्यस्थित उक्त क्षेत्रमा मुख्यतया हिन्दु बहुमत मेइतेई र इसाई कुकी समुदायबीच एक वर्षभन्दा बढी समयदेखि द्वन्द्व बढेको छ । द्वन्द्व बढ्दै गएपछि हाल पहिले बसोबास गर्ने समुदायलाई जातीय रेखामा विभाजन गरिएको छ ।

विद्रोही समूहले शुक्रबार गरेको रकेट आक्रमणमा एक ७८ वर्षीया वृद्धको मृत्यु हुनुका साथै ६ घाइते भएपछि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको थियो । स्थानीय सरकारको सूचनामार्फत ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षा’का निम्ति राज्यका सबै विद्यालय शनिबार बन्द गरिने घोषणा गरिएको हो ।

मणिपुरका पूर्वमुख्यमन्त्री स्व. मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट आक्रमण गरिँदा एक वृद्ध व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । इन्डियन एक्सप्रेसले एक अज्ञात सुरक्षा स्रोतलाई उद्धृत गर्दै रकेटहरू गेल्वनाइज्ड फलामको पाइप प्रयोग गरेर बनाइएको ‘इम्प्रोभाइज्ड प्रोजेक्टाइल’जस्तो देखिने उल्लेख गरेको छ ।

शुक्रबारको आक्रमणमा विद्रोहीले विस्फोटक पदार्थ खसाल्न ड्रोन प्रयोग गरेपछि प्रहरीले राज्यमा हिंसामा उल्लेख्य वृद्धि भएको जनाएको छ । मेइतेई र कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीका विषयमा लामो समयदेखि द्वन्द्व चलिरहेको छ । राजनीतिक लाभका निम्ति स्थानीय नेताले जातीय विभाजन ढाएको अधिकारकर्मीले आरोप लगाएका छन् ।