डिजिटल द्वन्द्वमा प्रधानमन्त्री ओली र मेयर बालेन

काठमाडौंका मेयर बालेन शाहसँगको डिजिटल द्वन्द्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई महङ्गो पर्दै गएको छ । मेयर बालेन शाहले लुम्बिनी प्रदेशका नेकपा (एमाले) सांसद रेखा शर्मालाई पक्राउ नगरेको विषयमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गर्दै आक्रोश पोखेपछि यो मुद्दा चर्चामा आएको छ ।

१५ वर्षीया बालिकालाई घरेलु कामदारको रूपमा राखेर हिंसा गरेको आरोपमा सांसद शर्माविरुद्ध कारबाही नगरेको भन्दै बालेनले सामाजिक सञ्जालमा कडा आलोचना गरेका थिए ।

उनको फेसबुक स्ट्याटस डिलिट भइसकेको छ तर चर्चा सेलाएको छैन । बालेनले लेखेका थिए, ‘अदालतले नि समाऊ भनेको तपाईँको सांसद रेखा शर्मा जसलाई बालशोषण गरेको मुद्दा छ । सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?’। गिरीबन्धु टी-स्टेट प्रकरणदेखि नै मेयर शाहले प्रधानमन्त्री ओलीविरुद्ध प्रहार गर्दै आएका थिए ।

प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै मेयर शाहले शर्मालाई पक्राउ गरेर कारबाही गर्न माग गरे । अहिले त्यो स्टाटस डिलिट भएको छ र त्यसको आरोप पनि शाहले सरकारमाथि लगाएका छन् ।

बागमती किनाराको सुकुम्बासी समस्यालाई लिएर पनि प्रधानमन्त्री ओली र मेयर शाहबीच घोचपेच चल्दै आएको थियो । मेयर शाह समर्थक युवाले सामाजिक सञ्जालमा ‘ओली अनफलो’ अभियान चलाइरहेका छन् । २४ घण्टाभित्रै ६० हजारभन्दा बढी ओलीका फलोअर्स घटेका छन् ।

लाग्छ, मेयर शाहले प्रधानमन्त्री ओलीलक्षित युवा वितृष्णाको नेतृत्व गरिरहेका छन् । कुनै बेला ‘आई लभ यु केपी बा’ भन्ने युवाहरू नै अहिले अनफलो अभियानमा छन् ।

यी र यस्ता अनेक कारणले ओलीको चौथो प्रधानमन्त्रित्व काल त्यति सहज देखिँदैन । सत्ताभोगको सुख प्राप्त हुनुको साटो उनले निरन्तर असहजता सामना गर्दैछन् । प्रधानमन्त्री ओलीको बेचैनी निरन्तर बढ्दो छ ।